२५०० वटा ब्रोईलर चल्ला सशस्त्र प्रहरीद्वारा नष्ट, संलग्न व्यक्ति र मोटरसाइकल भन्सारमा बुझाइयो

Spread the love

वीरगंज, २०८२ असार ८ 

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले पर्सा जिल्लाको धोबिनी गाउँपालिका–०१, घोडदौड क्षेत्रबाट अबैध रूपमा भारतबाट ल्याइएको २५ काटुन ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ। 

उक्त २५ काटुनमा जम्मा २५०० वटा प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला रहेको प्रहरीले जनाएको छ।

उक्त चल्ला एक भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गर्दा सुराकीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएको पशुपंक्षीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको रोहवरमा सशस्त्र प्रहरी बल नं. १३ गणको परिसरभित्र नष्ट गरिएको हो।

चल्ला पैठारी कार्यमा संलग्न पर्सा जिल्ला, जगरनाथपुर गाउँपालिका–२ निवासी अन्दाजी ५० वर्षीय साबिर अंसारीलाई पक्राउ गरिएको छ। साथै प्रयोग गरिएको मोटरसाइकल समेत आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरू नियन्त्रण गर्न नियमित गस्ती तथा निगरानीलाई अझ कडा बनाइएको जानकारी दिएको छ।

Scroll to Top