प्याब्सन वीरगञ्ज महानगर समिति द्वारा ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण 

Spread the love

वीरगञ्ज, साउन १६ 


प्याब्सन वीरगञ्ज महानगर समितिले वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित प्लस टु तहका कलेजहरूमा अध्ययनरत ३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

आज होटल पूजन, वीरगञ्जमा आयोजित एक विशेष समारोहमा नगर प्रमुख राजेशमान सिंहले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई सिफारिस पत्र हस्तान्तरण गर्दै छात्रवृत्तिबाट विद्यार्थीहरू यथार्थमै लाभान्वित हुने विश्वास व्यक्त गरे।

समारोह प्याब्सन वीरगञ्ज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा छात्रवृत्तिका लागि आयोजित प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष पुरस्कार पनि प्रदान गरिएको छ। परीक्षामा शीर्ष स्थान हासिल गरेका आयुष सर्राफलाई ल्यापटप, सागर साहलाई आई ट्याब तथा सञ्जोग महतो, निराजन प्रसाद र रोशन गुप्तालाई कलेज पोशाक प्रदान गरिएको थियो।

कार्यक्रममा महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले वीरगञ्जमै स्तरीय शिक्षाको वातावरण विस्तार हुँदै गएको उल्लेख गर्दै छात्रवृत्तिले विद्यार्थीको मनोबल वृद्धि गर्नुका साथै “वीरगञ्जमै पढ्न सकिन्छ” भन्ने सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

समारोहमा प्याब्सन जिल्ला अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, सुलभ केसी, प्याब्सनका सल्लाहकार मणि पाख्रिन, लालबहादुर पटेल, मधेस प्रदेश उपाध्यक्ष पुरन प्रधान, सल्लाहकार शिवजी गुप्ता, एन प्याब्सन महानगर अध्यक्ष जियालाल साह, प्याब्सन पर्साका सचिव अशोक संग्रौला लगायत अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शर्मानन्द कुशवाहाले व्यक्त गरेका थिए।

Scroll to Top