उदयपुर घुर्मी–२७ मा नेशनल मेडिकल कलेजद्वारा निःशुल्क महिला तथा बालस्वास्थ्य शिविर सम्पन्न

Spread the love

वीरगञ्ज, पुस ३ —
नेशनल मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूको सहभागितामा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा महिला तथा बालबालिकालाई लक्षित गरी स्त्रीरोग र बालरोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।

वडा नं. २७ का वडाध्यक्ष हृदय प्रसाद कुर्मीको समन्वय र सहयोगमा आयोजना गरिएको शिविर बिहान १० बजेदेखि सञ्चालन भएको थियो। शिविरमा १०७ जना महिला तथा बालबालिकाले सेवा लिएका छन्।

स्वास्थ्य चौकीमा आयोजित शिविरमा रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइ, बीएमआई तथा अक्सिजन स्याचुरेसनजस्ता प्रारम्भिक परीक्षणपछि विशेषज्ञ चिकित्सकद्वारा परामर्श दिइएको थियो। सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै दर्ता, प्रारम्भिक परीक्षण र चिकित्सक परामर्शका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको थियो।

कार्यक्रममा वडाध्यक्ष कुर्मी, स्वास्थ्य चौकीका इन्चार्ज कृष्णचन्द्र प्रसाद तथा नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर जितेश चन्द्र दासको उपस्थिति रहेको थियो। चिकित्सकीय सेवामा बालरोग विशेषज्ञ डा. अशफाक अन्सारी र स्त्रीरोग विशेषज्ञ डा. रवि साहले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो।

कार्यक्रमका वक्ताहरूले समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदा प्रारम्भिक रोग पहिचान र जनस्वास्थ्य सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे। स्थानीयवासीहरूले ग्रामीण क्षेत्रमा यस किसिमका निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरेका छन्।

आयोजकका अनुसार यस शिविरले महिला तथा बालस्वास्थ्य प्रवर्द्धन, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

Scroll to Top