काठमाडौं, २७ असोज २०८२
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका कैदीबन्दीमध्ये ५,५४७ जना अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। आन्दोलनको उथलपुथलका बीच कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन विभागले प्रभावकारी रणनीति बनाउने भएको छ।
आइतबार गृहमन्त्रीस्तरीय बैठकले फरार कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन महत्त्वपूर्ण निर्णय गरेको विभागले स्पष्ट पारेको छ। हालसम्म ९,००८ जना कैदीबन्दी कारागार फिर्ता भइसकेका छन्। विभागका अनुसार, फरार कैदीबन्दीको खोजी र पक्राउ अभियानलाई थप सशक्त र समन्वयात्मक बनाइने छ।
विभागले फरार कैदीबन्दीको नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन विभाग, राहदानी विभाग, यातायात व्यवस्थापन विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायत सेवाग्राहीको आवागमन हुने निकायहरूमा पठाउने निर्णय गरेको छ। साथै, ७७ वटै जिल्ला प्रशासन कार्यालयमा यो विवरण उपलब्ध गराइनेछ। फरार कैदीबन्दीको जानकारी विभागको आधिकारिक वेबसाइटमा समेत प्रकाशित गरिनेछ।
यसैगरी, सार्वजनिक निकायहरूमा कैदीबन्दीको विवरण उपलब्ध गराएर उनीहरू कुनै पनि सार्वजनिक सेवा लिन आएमा तत्काल पक्राउ गर्ने व्यवस्था मिलाइने भएको छ। फरार कैदीबन्दीको खोजी र पक्राउ अभियानलाई नियमित, सशक्त र प्रभावकारी बनाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिने विभागले जनाएको छ।
यस अभियानले फरार कैदीबन्दीलाई कानुनी दायरामा ल्याउन र कारागार व्यवस्थापनलाई थप सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



