वीरगञ्ज, असोज २७
वीरगञ्जस्थित साउथ सिटी हिमाल हस्पिटलले केही स्थानीय सञ्चार माध्यमहरूले अस्पताल र त्यहाँ कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रीति यादवको नाम जोडेर प्रकाशित/प्रसारित गरेको भ्रामक समाचारप्रति कडा आपत्ति जनाएको छ।

अस्पताल प्रशासनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता समाचारहरूले आफ्नो प्रतिष्ठा र विश्वसनीयतामा आघात पुर्याएको भन्दै सम्बन्धित सञ्चार माध्यमहरूलाई गल्ती सच्याउन र भविष्यमा यस्ता कार्य नदोहोर्याउन आग्रह गरेको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, आज वीरगञ्जको श्रीराम अस्पतालमा भएको भनिएको घटनासँग साउथ सिटी हिमाल हस्पिटल र डा. प्रीति यादवको कुनै संलग्नता छैन। तर पनि, केही सञ्चार माध्यमहरूले बिना आधार उक्त घटनासँग अस्पताल र चिकित्सकको नाम जोडेर गलत समाचार सम्प्रेषण गरेको अस्पतालको आरोप छ।
अस्पतालले यस्ता गतिविधिले स्वास्थ्य संस्थाको विश्वसनीयता र चिकित्सकहरूको मनोबलमा नकारात्मक असर परेको बताउँदै तत्काल यस्ता कार्य रोक्न माग गरेको छ।
नेपाल सरकारको मापदण्डअनुसार सञ्चालित साउथ सिटी हिमाल हस्पिटलले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउँदै, विगतमा पनि केही माध्यमहरूले कपोलकल्पित आरोपमार्फत प्रतिष्ठा धमिल्याउने प्रयास गरेको आरोप लगाएको छ।
अस्पतालले सञ्चार माध्यमहरूलाई सत्य तथ्य जाँच गरी जिम्मेवार र निष्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। साथै, भ्रामक समाचारको निरन्तरता भएमा कानुनी कारबाही अघि बढाउने चेतावनी समेत दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “सञ्चार माध्यम समाजको ऐना हो, उनीहरूको प्रमुख जिम्मेवारी सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु हो।”



