अर्जुन चौधरी बैशाख २२, बिरगंज

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा मानव बेचबिखन विरुद्ध जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रम बिरगंजस्थित मुन लाइट माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले गरेका थिए। प्रमुख अतिथिका रूपमा वडा प्रहरी कार्यालय बिर्ता, पर्साका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा मुन लाइट माविका प्रिन्सिपल श्याम केसीले सहभागिता जनाएका थिए।

कार्यक्रमको सफल संचालन कंचन माविका डाइरेक्टर माटीन मोक्तानले गरेका थिए। कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार नन्दलाल राउत, सियाराम नेपाली, अभिलाष गुप्ता, प्रहरी हवल्दार कुमार विक, साथै आजीवन सदस्यहरू र पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको मूल उद्देश्य समुदायलाई मानव बेचबिखनजस्ता गम्भीर अपराधबारे सचेत गराउनु, जोखिम पहिचान गर्नु, र सुरक्षाका उपायहरूबारे जानकारी दिनु रहेको थियो। प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले मानव बेचबिखनको वर्तमान अवस्था, रोकथामका उपाय तथा प्रहरी–समुदाय सहकार्यको महत्त्वबारे प्रकाश पारे।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यस कार्यक्रममा प्रहरी र नागरिकबीचको आपसी सम्बन्ध सुदृढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। सहभागीहरूले यस्ता चेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनु पर्ने आवश्यकता औंल्याएका छन्।

कार्यक्रमले स्थानीय स्तरमै अपराध नियन्त्रण, सुरक्षाबोध अभिवृद्धि र सामाजिक उत्तरदायित्व सबल बनाउने अपेक्षा गरिएको छ।

Share.
Leave A Reply

सूचना विभाग दर्ता नं:

© 2026 NewsParsa News Network | All rights reserved.
Exit mobile version