क्रियाशील युवा पत्रकार मञ्च नेपालको अध्यक्षमा आनन्द पटेल चयन

Spread the love

वीरगंज , जेठ २ 

क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो साधारण सभा शनिबार वीरगंजस्थित होटल मकालुमा सम्पन्न भएको छ । साधारण सभाले आनन्द पटेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र साह, महासचिवमा राकेश कुमार साह, सचिवमा ओमप्रकाश कुमार सराफ तथा कोषाध्यक्षमा उपेन्द्र कुमार बरै चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुनिल कुमार ओझा, आरोहण साह, कनहिया बर्नवाल, मुकेश कुमार यादव, आदित्य शर्मा, दिपेश कुमार ठाकुर, उपेन्द्र कुमार पटेल, दिनेश प्रसाद कुशवाहा, अर्जुन कुमार दास तथा अरुण कुमार साह रहेका छन् ।

साधारण सभाको उद्घाटन उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै पत्रकारहरूलाई सत्य, विश्वासिलो तथा खोजमूलक समाचार तयार गर्न सुझाव दिए ।

न्यायाधीश डाँगीले क्रियाशील युवा पत्रकार मञ्च नेपालले विगतमा गरेका गतिविधि प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको हितमा कलम चलाउन शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछानेले राज्यले पत्रकारमाथि आर्थिक नाकाबन्दी गर्दै मिडियाको शक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे । उनले पत्रकारले सबैका लागि बोल्ने र लेख्ने गरे पनि पत्रकार समस्यामा पर्दा ठूला उद्यमी, व्यवसायी तथा संघसंस्थाबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे । साथै पत्रकारिता विश्वासिलो र आम जनताको रुचिको विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

पत्रकार मञ्चका अध्यक्ष प्रणय साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शक्य, ज्ञानदा माध्यमिक विद्यालयका सञ्चालक राजेन्द्र कोइराला, वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुवोध गुप्ता, वर्तमान अध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय चौहान, प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिटाकोटे मगर, समाजवादी प्रेस संगठन मधेश प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार नै सम्पन्न भएको छ । अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा बसेको बैठकले पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गर्ने, नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने तथा वीरगंजमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै जेठ महिनाभित्र रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जनाएको छ ।

Scroll to Top