वीरगन्ज , बीरगञ्ज २९
सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्।
पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन्।
पारिवारिक स्रोतका अनुसार SEE नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित देखिएका थिए। उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए। राति करिब ११:३० बजेतिर परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाइ गरिरहेका बेला उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेका थिए।
“हामीले धेरै सम्झाउने प्रयास गरिरहेका थियौँ, तर उनी अचानक कोठामा गएर ढोका बन्द गरे,” परिवारका एक सदस्यले बताए, “कोठाको ढोका फलामको भएकाले फुटाउन समय लाग्यो। ढोका खोलेर हेर्दा उनले ओछ्यानको तन्ना (चादर) प्रयोग गरी पासो लगाइसकेका रहेछन्।”
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हरेक वर्ष SEE नतिजापछि यस्ता दुःखद घटनाहरू सार्वजनिक हुने गरेका छन्। शिक्षाविद् तथा मनोपरामर्शदाताहरूले परीक्षाको नतिजा जीवनको अन्तिम निर्णय नभएको भन्दै विद्यार्थीमाथि अत्यधिक मानसिक दबाब नदिन अभिभावकलाई आग्रह गर्दै आएका छन्। साथै, नतिजापछि निराश देखिने बालबालिकाप्रति परिवारले विशेष ध्यान दिनुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्।



