छिपहरमाईका आलम र जगरनाथपुर का पटेल ब्राउन सुगरसहित पक्राउ

Spread the love

बीरगंज , असोज ७

पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ वीरगंज महानगरपालिका–१५ स्थित चालीस फिटे सडकखण्डबाट दुबै जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारत तर्फको नम्बर प्लेट भएको BR05BL 1680 नम्बरको कालो–रातो रंगको TVS अपाचि मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद अवस्थामा रोकी जाँच गर्दा उनीहरूको पाइन्टको खल्तीबाट १५४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको थियो ।

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ माधोपुरका ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन् ।

प्रहरीले पटेलको घरमा समेत खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाइराखेको ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थ र लागूऔषध प्याकिङ गर्ने प्लास्टिक बरामद गरेको जनाएको छ ।

बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

Scroll to Top