रातोमाटे चेकप्वाइन्टबाट ४ लाखभन्दा बढीको ट्रामाडोलसहित दुई जना पक्राउ

Spread the love

वीरगञ्ज , वैशाख ११

 मकवानपुर प्रहरीले हेटौँडा–१५ रातोमाटेस्थित चेकप्वाइन्टबाट ४ लाख रुपैयाँभन्दा बढीको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान साढे ९ बजे पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत रातोमाटे चेकप्वाइन्टमा सवारी जाँचको क्रममा ट्रामाडोल क्याप्सुल लुकाई राखिएको अवस्थामा फेला परेको हो।

पक्राउ पर्नेमा बारा जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीका २५ वर्षीय तीर्थलाल पासवान र २३ वर्षीय सह–चालक सुनिल पटेल रहेका छन्। उनीहरू मधेस प्रदेश नम्बर ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीमा बाराको सिम्रौनगढबाट हेटौँडातर्फ जाँदै थिए।

प्रहरीको टोलीले शंका लागि गाडी जाँच गर्दा अगाडिको इन्जिन भागमा लुकाइएको ५ हजार ७५० थान ट्रामाडोल क्याप्सुल बरामद भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार ती क्याप्सुलहरूको बजार मूल्य प्रति पत्ता ७२ रुपैयाँका दरले ४ लाख १४ हजार रुपैयाँ बराबर पर्छ।

प्रहरीले दुवै अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Scroll to Top