वीरगंज, ३१ असार
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा पर्सा जिल्लाबाट ४.० जिपिए ल्याएर उत्कृष्ट प्रदर्शन गर्ने ८ जना विद्यार्थीलाई एक विशेष सम्मान कार्यक्रममार्फत नगद पुरस्कारसहित सम्मान गरिएको छ।

जिल्ला शिक्षा समितिको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय पर्साको सहआयोजनामा आयोजित ‘जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि विमर्श कार्यक्रम’ अन्तर्गत मंगलवार वीरगंजमा आयोजित कार्यक्रममा उक्त विद्यार्थीहरूलाई १०/१० हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरिएको हो।
सम्मानित विद्यार्थीहरूमा सामुदायिक विद्यालय त्रिजुद्ध माविका सचिन मेहता, कादम्बरी एकेडेमीका सिद्धी शर्मा, साक्षी यादव, यश जयसवाल, सौरभ पाण्डे, गौतम माविकी जोया हवारी, दिपीशा रौनियार र आरभ चौधरी रहेका छन्।
उनीहरूलाई जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र शिक्षा विकास समन्वय इकाइ पर्साका प्रमुख हरि राउतले संयुक्त रूपमा सम्मान गरेका हुन्। कार्यक्रममा विद्यार्थीका अभिभावकलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरू त्रिजुद्ध मावि, कादम्बरी एकेडेमी, गौतम मावि, सिद्धार्थ मावि र जिएचपी माविलाई पनि कदरपत्र प्रदान गर्दै सम्मान गरियो।
त्यस्तै, जिल्लामै उत्कृष्ट केन्द्राध्यापकको रूपमा श्री मावि विजयवस्ती, ठोरीका प्रधानाध्यापक नारायण लामालाई पनि नगद १० हजार रुपैयाँसहित कदरपत्र प्रदान गरियो।
अजय सर्राफको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास समन्वय इकाइ पर्साका प्रमुख हरि राउत, बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन साह तेली, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साह, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, १४ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरू तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थी, विद्यालय, शिक्षक र अभिभावकको भूमिकालाई उत्साहित गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धिको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।


