बीरगञ्ज , माघ १२
प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन पर्सा अन्तर विद्यालय जुनियर फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन चार खेलहरू सम्पन्न भएका छन्। सम्पन्न खेलहरूमा गौतम माध्यमिक विद्यालय, मुनलाईट माध्यमिक विद्यालय, सफल एकेडेमी र ठोरी एकेडेमीले शानदार जित हात पारेका छन्।
पहिलो खेलमा गौतम माध्यमिक विद्यालयले सेन्ट जेभियर्स स्कुललाई ४–० गोलअन्तरले पराजित गर्यो। गौतमको जितमा राज कर्णले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि जिते।
दोस्रो खेलमा मुनलाईट माध्यमिक विद्यालयले सूर्योदय स्कुलमाथि एकतर्फी खेल प्रदर्शन गर्दै १०–० गोलको फराकिलो जित निकालेको छ। मुनलाईटका प्रिन्स आले मगर उत्कृष्ट खेल प्रस्तुत गर्दै म्यान अफ द म्याच घोषित भए।
तेस्रो खेलमा सफल एकेडेमीले श्री आदर्श माध्यमिक विद्यालयलाई ७–० गोलअन्तरले पराजित गर्यो। सफल एकेडेमीका लक्की चौधरी उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच बने।
चौथो तथा अन्तिम खेलमा ठोरी एकेडेमीले न्यु वेभ एकेडेमीलाई ६–० गोलअन्तरले हराउँदै प्रभावशाली जित दर्ता गर्यो। ठोरी एकेडेमीका यवेश राई म्यान अफ द म्याच घोषित भए।



