वीरगञ्ज । पौष ५
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)को आयोजनामा सञ्चालित टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत मिति २०८२–०९–०५ मा केटा तथा केटी समूहका गरी पाँचवटा खेल सफलतापूर्वक सम्पन्न भएका छन्। प्रतियोगितामा विद्यालयस्तरीय खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरूलाई रोमाञ्चित बनाएका थिए।
केटातर्फको पहिलो खेलमा मिनिल्यान्ड र मालिनीबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलमा मिनिल्यान्डले मालिनीलाई ६ रनले पराजित गर्दै जित दर्ता गर्यो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका सचिन पासवान ‘प्लेयर अफ द म्याच’ घोषित भए।
केटीतर्फको दोस्रो खेलमा साउथ जोन र माउन्ट मकालु आमनेसामने भएका थिए। साउथ जोनले आक्रामक प्रदर्शन गर्दै माउन्ट मकालुलाई ६० रनको फराकिलो अन्तरले पराजित गर्यो। शिवानी साह उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ बनिन्।
तेस्रो खेलमा केटातर्फ मानकामना र सन साइनबीच प्रतिस्पर्धा भएको थियो। मानकामनाले सशक्त खेल प्रस्तुत गर्दै सन साइनलाई ३९ रनले हरायो। उक्त खेलमा ओसिम आलम ‘प्लेयर अफ द म्याच’ घोषित भए।
चौथो खेल केटीतर्फ जीवन ज्योति र सन लाइटबीच भएको थियो। जीवन ज्योतिले उत्कृष्ट बलिङ र ब्याटिङ गर्दै सन लाइटलाई १० विकेटले पराजित गर्यो। सलोनी कलवार खेलकी ‘प्लेयर अफ द म्याच’ बनिन्।
केटातर्फको पाँचौँ खेलमा सन लाइट र एस.आर. ग्यालेक्सीबीच प्रतिस्पर्धा भएको थियो। एस.आर. ग्यालेक्सीले सशक्त प्रदर्शन गर्दै सन लाइटलाई ९ विकेटले पराजित गर्यो। चन्दन यादव उक्त खेलका ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।



