वीरगञ्ज, १८ साउन
विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल प्रतिनिधित्व गर्दै खेलेका वीरगञ्ज महानगरपालिका–१० का अरनीस गुप्तालाई वीरगञ्ज महानगरपालिकाले प्रशंसा पत्र प्रदान गरेको छ।
नगरप्रमुख राजेशमान सिंहले अरनीसलाई प्रशंसा पत्र प्रदान गर्दै उनको उत्कृष्ट प्रदर्शनले देश तथा शहरको गौरव बढाएको उल्लेख गरे। डेनमार्कको होरिङ स्टेडियममा २०–२७ जुलाईसम्म आयोजित प्रतियोगितामा अरनीसले Goals Academy (AG10 Academy) को तर्फबाट अण्डर–१४ तर्फ खेलेका थिए।
ब्राजिल, स्पेन, अमेरिका, क्यानडा, युएईलगायत ५० बढी देशका २५०० क्लब सहभागी उक्त प्रतियोगितामा अरनीसले फाईनल खेलमा केन्याको LEit Soccer Academy विरुद्ध १ गोल गर्दै निर्णायक भूमिका निर्वाह गरे। नेपाललाई समूह विजेता बनाउनेमा उनले उल्लेखनीय योगदान दिएका थिए।



