वीरगञ्ज, २३ जेठ
वीरगञ्जस्थित ब्राइट +2 कलेजले शुक्रबार एक भव्य र उत्साहजनक बिदाइ समारोहको आयोजना गर्दै कक्षा १२ का विद्यार्थीहरूलाई विदा गरेको छ। वीरगञ्जको टाउन हलमा सम्पन्न उक्त कार्यक्रम सांस्कृतिक माहोलमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता कलेज प्रमुख मुकेश गुप्ताले गरेका थिए भने प्रमुख अतिथि भारतीय महावाणिज्यदूतावास वीरगञ्जका महावाणिज्यदूत देवी साहय मीणा थिए। प्रमुख अतिथि मीणाले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै शिक्षालाई लक्ष्य बनाएर अगाडि बढ्न प्रेरणा प्रदान गरे। उनले विद्यार्थीहरूमा परिवार, समाज र राष्ट्रको समृद्धिमा योगदान पुर्याउने जिम्मेवारी रहेको उल्लेख गरे।
कलेज प्रमुख गुप्ताले कलेजले शैक्षिक मात्र नभई सामाजिक र नैतिक शिक्षामा पनि विशेष ध्यान दिएको बताउँदै संस्थाको लक्ष्य जिम्मेवार र सक्षम नागरिक उत्पादन गर्नु रहेको बताए।
बिदाइ कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, नृत्यजस्ता विविध सांस्कृतिक प्रस्तुति दिए। शिक्षकमण्डलले विद्यार्थीहरूको भावी जीवनमा सफलता र प्रगतिको शुभकामना व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा मुकेश गुप्ताले सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद दिँदै कार्यक्रम सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रममा कलेजका शिक्षक अखिल पटेल, सञ्चारकर्मी अभिलाष गुप्ता, अर्जुन चौधरी, प्रहलाद चौरसिया, राजु बैठा, सुर्य नारायण बिक, सन्तोष कुश्वाहा लगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


