वीरगञ्ज, साउन १३

पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित धार्मिक आस्थाको केन्द्र बाबा दुधेश्वरनाथ महादेव (भाथा बाबा) मन्दिर आगामी श्रावण १४ गतेदेखि भक्तजन तथा पर्यटकका लागि खुला हुने भएको छ। चुरे पहाडको काख, घना जंगल र मनमोहक प्राकृतिक सौन्दर्यले भरिएको यस क्षेत्रलाई धार्मिक तथा प्राकृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले स्थानीयस्तरमा व्यापक तयारी गरिएको छ।

ठोरी गाउँपालिका–५ सुवर्णपुर चोकदेखि करिब १८ किलोमिटर उत्तरमा रहेको भाथा बाबा क्षेत्रमा प्रत्येक वर्ष नेपालका विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा श्रद्धालु दर्शनका लागि आउने गरेका छन्। धार्मिक महत्वका साथै प्राकृतिक आकर्षणले भरिपूर्ण यस क्षेत्रमा मन्दिर दर्शनसँगै जंगल सफारी, वन्यजन्तु अवलोकन तथा प्राकृतिक दृश्यको आनन्द लिन सकिने भएकाले यसलाई धार्मिक र प्रकृति पर्यटनको नयाँ गन्तव्यका रूपमा हेरिएको छ।

भक्तजन तथा पर्यटकको यात्रालाई सहज बनाउन सुनखरी मध्यवर्ती होमस्टे, ठोरी–५ सुवर्णपुर ले जिप यातायात तथा जिप सफारीको व्यवस्था गरेको जनाएको छ। जिप सफारीमार्फत भाथा बाबा दर्शनसँगै पर्सा राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु तथा हराभरा प्राकृतिक वातावरणको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको हो।

सुनखरी मध्यवर्ती होमस्टेका अध्यक्ष शम्भुराम पौडेल ले भाथा बाबा क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रमा मात्र सीमित नराखी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय उत्पादनको बजारीकरण, होमस्टे व्यवसाय, यातायात सेवा तथा रोजगारीका अवसरसमेत विस्तार हुनेछन्।

समाजसेवी चन्द्र नेवार ले भाथा बाबा क्षेत्रको धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावनालाई उजागर गर्दै ठोरीको समग्र पर्यटन विकाससँग जोड्ने प्रयास भइरहेको बताए। उनले व्यवस्थित प्रचारप्रसार, सडक पहुँच सुधार, पर्यटक सुरक्षा, सरसफाइ, सूचना केन्द्र, विश्रामस्थल तथा अन्य आवश्यक पूर्वाधार विकास गर्न सके ठोरीलाई धार्मिक तथा प्राकृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे।

विशेषगरी श्रावण महिनामा धार्मिक पर्यटकको चहलपहल बढ्ने भएकाले स्थानीयस्तरमा दर्शन यात्रालाई व्यवस्थित बनाउन आवश्यक तयारी भइरहेको जनाइएको छ। स्थानीय समुदाय, मध्यवर्ती क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज तथा सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य हुन सके यस क्षेत्रले धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सुनखरी मध्यवर्ती होमस्टेले आगन्तुकका लागि जिप सफारी, एसीसहितको आरामदायी होमस्टे, स्थानीय मौलिक परिकार, निकुञ्ज भ्रमण तथा प्राकृतिक अवलोकन लगायतका सुविधा उपलब्ध गराउने जनाएको छ। साथै भाथा बाबा दर्शन, जिप सफारी तथा होमस्टे सेवासम्बन्धी थप जानकारीका लागि ९८६०१०४७६७९८१९२२३०८२ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।

धर्म, प्रकृति र पर्यटनको त्रिवेणीका रूपमा परिचित भाथा बाबा क्षेत्रको व्यवस्थित प्रचारप्रसार तथा पूर्वाधार विकास गर्न सके ठोरीलाई धार्मिक तथा प्राकृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।

Share.
Leave A Reply

Exit mobile version