वीरगञ्ज , फाल्गुन १६
जनता समाजवादी पार्टी नेपाल (जसपा) पर्साले शुक्रबार राति वीरगन्ज महानगरपालिका–३१, भेडियाहीमा आयोजना गरेको चुनावी रात्री सभालाई सम्बोधन गर्दै उम्मेदवार रामनरेश यादवले मधेसी जनआन्दोलनको बलमा संघीय र समावेशी संविधान निर्माण भएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “मधेसी जनताको संघर्षकै जगमा संविधानमा समावेशी व्यवस्था सुनिश्चित भएको हो। आज मधेसी, महिला, मुस्लिम र दलित समुदायलाई राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था त्यसैको परिणाम हो।”
मधेसको अधिकार मधेसी जनताले नै सुनिश्चित गर्नुपर्ने बताउँदै उहाँले छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। “चुनावको समयमा केही उम्मेदवार पैसा बाँड्न आउन सक्छन्। पैसा लिनुहोस्, तर भोट मधेसी अधिकारका लागि संघर्ष गर्ने जसपालाई दिनुहोस्,” उहाँले भन्नुभयो।
दुई पटक सांसद र तीन पटक मन्त्री भइसकेको अनुभवका आधारमा विकासका मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै यादवले पर्सा क्षेत्र नं. १ का ग्रामीण वडाहरूमा सडक, नाला, विद्यालय र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधारको अझै अभाव रहेको दाबी गर्नुभयो। “शहरी ९ वटा वडा बाहेक ग्रामीण क्षेत्र पछाडि परेका छन्। म निर्वाचित भए ग्रामीण बस्तीका गल्ली–गल्लीमा सडक र नाला निर्माण गर्नेछु, विद्यालयको स्तर सुधार्नेछु र गुणस्तरीय निःशुल्क औषधिमा आम नागरिकको पहुँच सुनिश्चित गर्नेछु,” उहाँले प्रतिवद्धता जनाउनुभयो।
हरेक वर्ष वर्षायाममा भेडाहा खोलाले जनधनमा क्षति पुर्याउँदै आएको उल्लेख गर्दै उहाँले खोला नियन्त्रणका लागि ठोस पहल गर्ने दाबी पनि गर्नुभयो।
कार्यक्रम स्थानीय नेता सुनिल पासवानको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा जसपा नेपालका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद कुर्मीले मधेसी पहिचान र अधिकार संविधानमा स्थापित गर्न जसपाको निर्णायक भूमिका रहेको बताउँदै छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। उहाँले मधेसी स्वाभिमानको रक्षाका लागि रामनरेश यादवलाई विजयी गराउन आवश्यक रहेको धारणा राख्नुभयो।
त्यसैगरी जसपा वीरगञ्ज महानगर समितिका अध्यक्ष घनश्याम गुप्तासहितका वक्ताहरूले पनि मधेसी अधिकारको संरक्षण र विकासका लागि जसपा अपरिहार्य रहेको दाबी गर्दै आम मतदातालाई छाता चिन्हमा मतदान गर्न अपिल गरे।
यसैबीच शनिबार बिहान जसपाका उम्मेदवार यादवले वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ४, ५ र ७ का मतदातालाई घरदैलोमै भेट गरी पार्टीको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आग्रह गर्नुभएको छ। उक्त कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य सुनिल शर्मालगायतको उपस्थिति रहेको थियो।


