वीरगञ्ज , पौष २९
माघी खिचडी मूल समारोह समिति पर्साले आगामी माघ १ गते धुमधामका साथ माघी पर्व मनाउने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। उक्त जानकारी आज नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीले आदिवासी थारु समुदायको नयाँ वर्ष २६५० को अवसरमा शुभकामना आदान–प्रदान, विविध सांस्कृतिक प्रस्तुति तथा परम्परागत कार्यक्रमहरू भव्य रूपमा आयोजना गरिने जानकारी दिनुभयो। कार्यक्रममा थारु सांस्कृतिक नृत्य–गीत, घुम्टो, सामा–चकेवा, झम्टा, थारु पूर्वी नाच, बालबालिकाद्वारा गीत–नृत्य तथा बाल कला प्रदर्शनी प्रस्तुत गरिनेछ।
त्यसैगरी घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलगायत परम्परागत खानाका प्रदर्शनीसमेत राखिने समिति स्रोतले जनाएको छ।
आर्थिक समिति संयोजक नन्दकिशोर पञ्जियारका अनुसार माघ ३० गते पावरहाउस चोकदेखि मकालु हुँदै घण्टाघरसम्म मोटरसाइकल र्याली आयोजना गरिनेछ भने सोही दिन साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम सम्पन्न हुनेछ। माघ १ गते रक्तदान कार्यक्रमसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी पर्वलाई भव्य रूपमा मनाइने योजना रहेको उहाँले बताउनुभयो।
समितिले पर्सा जिल्लाका सम्पूर्ण आदिवासी जनजाति तथा अन्य नागरिकहरूलाई कार्यक्रममा उपस्थित भई माघे पर्वलाई सफल बनाउन अपिल गरेको छ।
पत्रकार सम्मेलनमा थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महत्त्व थारु, प्रचार–प्रसार संयोजक दिपेन्द्र चौधरी, सांस्कृतिक संयोजक विजया ओझैया, सुरक्षा संयोजक विकास चौधरीलगायतको उपस्थिति रहेको थियो।



