वीरगञ्ज, १९ जेठ
प्रकृति सेवा प्रतिष्ठान नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा वातावरण दिवस २०८३ को पूर्वसन्ध्यामा साताव्यापी कार्यक्रमअन्तर्गत मंगलबार व्यापक सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
वीरगञ्ज–९ रानीघाटस्थित जीवन ज्योति स्कुल परिसरबाट सुरु भएको सरसफाइ अभियान गल्ली, सडक तथा पेटी हुँदै घण्टाघरसम्म पुगेको थियो। त्यसपछि सहभागीहरूले वीरगञ्ज चिनीमिल आवास क्षेत्रमा रहेको प्रसिद्ध पशुपतिनाथ मन्दिर परिसरमा समेत सरसफाइ गर्दै वातावरण संरक्षण तथा स्वच्छताको सन्देश प्रवाह गरेका थिए।
प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा सम्पन्न कार्यक्रममा जीवन ज्योति स्कुलका सञ्चालक मीनाक्षी कर्माचार्य गुप्ता, प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू रुद्र नारायण सिंह, केदार गुप्ता, भोला प्रसाद, सञ्चारकर्मी आकाश पटेल, शिक्षक दीपा थापा, चन्दन सिंह तथा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक शिव गुप्ताले प्रकृति बिना पृथ्वी र मानव जीवनको कल्पना गर्न नसकिने उल्लेख गर्दै आफ्नो वरपरको वातावरण स्वच्छ राखेर प्रकृतिप्रति सम्मान व्यक्त गर्न सके स्वस्थ समाज निर्माण गर्न सकिने बताए। उनले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने प्रकृति सेवा प्रतिष्ठान परिवार र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।
यस अवसरमा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले वातावरण दिवसलाई केन्द्रमा राखेर जेठ १८ देखि २२ गतेसम्म विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। प्रकृतिप्रति जिम्मेवारीबोध गराउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ, जनजागरण तथा वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गरिएको उनले बताए।
सरसफाइ अभियानका क्रममा विद्यार्थीहरूले हास्य, व्यंग्य तथा सन्देशमूलक शैलीमा सरसफाइको महत्वबारे जानकारी दिँदै स्थानीयवासी तथा श्रद्धालु भक्तजनलाई वातावरण संरक्षण र स्वच्छताप्रति सचेत रहन आग्रह गरेका थिए। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता देखेर आफू निकै खुसी र भावुक भएको बताउँदै अध्यक्ष सिंहले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूप्रति आभार व्यक्त गरे।
कार्यक्रमले वातावरण संरक्षण, सरसफाइ तथा प्रकृतिप्रति सम्मानको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास रहेको छ।



