युबन कम्पनीको विशेष छुटसहित ‘भविष्य मेला २०२६’ भोलि वीरगञ्जमा

Spread the love

वीरगञ्ज, ४ वैशाख 

एसइई परीक्षा दिएका विद्यार्थी तथा अभिभावकहरूलाई लक्षित गर्दै वीरगञ्जमा आयोजना हुन लागेको ‘भविष्य मेला २०२६’ मा युबन कम्पनीले आफ्ना विभिन्न टेक ग्याजेटहरूमा विशेष छुट उपलब्ध गराउने भएको छ ।

मेलामा सहभागी विद्यार्थीहरूले युबन कम्पनीका एयरबड्स, पावर बैंक, इयरफोन, चार्जर तथा स्मार्ट वाचलगायतका सामग्रीहरू विशेष छुटमा खरिद गर्न सक्नेछन् । आयोजकका अनुसार यो छुटले विद्यार्थीहरूलाई गुणस्तरीय प्रविधि सामग्री सहज र सस्तो मूल्यमा प्राप्त गर्ने अवसर दिनेछ ।

कार्यक्रम संयोजक नवीन कार्कीका अनुसार, युबन कम्पनीको सहभागिताले मेलालाई थप आकर्षक बनाउने र विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै उपयोगी सामग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

मेलामा गोला प्रथामार्फत विभिन्न पुरस्कार जित्ने अवसर पनि रहेको छ । जसअन्तर्गत एक जनाले मोबाइल फोन, १० जनाले एयरबड्स, १० जनाले पावर बैंक र १० जनाले स्मार्ट वाच प्राप्त गर्नेछन् । विजेताहरूको घोषणा कार्यक्रमकै साँझ गरिने आयोजकले जनाएको छ ।

वैशाख ५ गते शनिबार वीरगञ्जस्थित सिद्धार्थ दियालो होटेलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एकदिने मेलामा ८ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

मेलामा विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा तथा विभिन्न प्राविधिक विषयमा निःशुल्क करियर काउन्सिलिङ, विषय छनोट मार्गदर्शन, छात्रवृत्ति सम्बन्धी जानकारी तथा शैक्षिक संस्थाहरूको विस्तृत विवरण उपलब्ध गराइनेछ ।

यसका साथै, निःशुल्क डिम्याट खाता, बैंक खाता खोल्ने सुविधा, आँखा जाँच शिविर, स्टेशनरी किट, शैक्षिक पुस्तक तथा टेक ग्याजेटसमेत वितरण गरिने कार्यक्रम रहेको छ ।

यसअघि पहिलो संस्करण वीरगञ्ज टाउन हलमा सम्पन्न भएको थियो, जसमा १० जिल्लाबाट ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने तयारी आयोजकले गरेको जनाएको छ ।

वीरगञ्ज महानगरपालिका, प्याब्सन पर्सा, एनप्याब्सन पर्सा, हिसान पर्सा तथा वीरगञ्ज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना हुन लागेको यस मेलाले पर्सा, बारा, रौतहट लगायत आसपासका क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक समानता र करियर निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

एसइई दिएका विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थाहरूलाई ‘भविष्य मेला २०२६’ मा सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेका छन् ।

Scroll to Top