वीरगञ्ज, ४ वैशाख
एसइई परीक्षा दिएका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई लक्षित गर्दै वीरगञ्जमा आयोजना हुन लागेको ‘भविष्य मेला २०२६’ मा सहभागी विद्यार्थीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
आयोजक एड्स बी मिडियाका अनुसार मेलामा गोला प्रथा मार्फत एक जना विद्यार्थीले मोबाइल फोन, १० जनाले एयरबड्स, १० जनाले पावर बैंक र १० जनाले स्मार्ट वाच जित्ने मौका पाउनेछन् । विजेताको घोषणा कार्यक्रमकै साँझ गरिनेछ ।
आगामी वैशाख ५ गते शनिबार वीरगञ्जस्थित सिद्धार्थ दियालो होटेलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक दिने शैक्षिक तथा करियर मेलामा ८ हजारभन्दा बढी विद्यार्थी र अभिभावक सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रम निर्देशक नवीन कार्कीका अनुसार, “भविष्य मेला केवल शैक्षिक प्रदर्शनी नभई विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत भविष्य निर्माण गर्ने परिवर्तनकारी मञ्च हो । पुरस्कार व्यवस्थाले विद्यार्थीमा थप उत्साह ल्याउने र करियर छनोटमा सहयोग पुग्ने विश्वास गरिएको छ ।”
मेलामा विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा तथा विभिन्न प्राविधिक विषयमा निःशुल्क करियर काउन्सिलिङ, विषय छनोट मार्गदर्शन, छात्रवृत्ति सम्बन्धी जानकारी तथा शैक्षिक संस्थाहरूको विस्तृत विवरण उपलब्ध गराइनेछ । सहभागी कलेजहरूले पूर्ण तथा आंशिक छात्रवृत्ति घोषणा गर्नेछन् ।
गत वर्ष वीरगञ्ज टाउन हलमा सम्पन्न पहिलो संस्करणमा १० जिल्लाबाट ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । दोस्रो संस्करणलाई अझ व्यवस्थित र भव्य बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।
यसपटक मेलामा निःशुल्क डिम्याट खाता, बैंक खाता, आँखा जाँच शिविर, स्टेशनरी किट, शैक्षिक पुस्तक तथा टेक ग्याजेटहरू समेत उपलब्ध गराइनेछ ।
वीरगञ्ज महानगरपालिका, प्याब्सन पर्सा, एनप्याब्सन पर्सा, हिसान पर्सा र वीरगञ्ज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजना हुन लागेको मेलाले पर्सा, बारा, रौतहट लगायत आसपासका क्षेत्रका विद्यार्थीलाई शैक्षिक समानता र करियर तयारीमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजकले एसइई दिएका विद्यार्थी, अभिभावक तथा शैक्षिक संस्थाहरूलाई मेलामा सहभागी हुन आग्रह गरेको छ ।



