रिलिफ सोसाइटी अफ कमर्स वीरगञ्ज द्वरा पाँच विशिष्ट व्यक्तित्व सम्मानित

Spread the love

बीरगन्ज, २९ वैशाख 

अर्जुन चौधरी

 रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा सोमबार बीरगन्जका पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ।

 समाजसेवा, शिक्षा, स्वास्थ्य, खेलकुद र उद्यमशीलता क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानको कदर गर्दै सो सम्मान प्रदान गरिएको हो।

समारोहमा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका जयकिशोर पाण्डे, चिकित्सा क्षेत्रमा डा. भरत गोइत, खेलकुद क्षेत्रमा सविन बस्नेत (अध्यक्ष, भेटान्स सिटी क्लब बीरगन्ज), समाजसेवा क्षेत्रमा श्रीमती विद्या कुमारी सारावगी (अध्यक्ष, उपकार सेवा नेपाल), र महिला उद्यमशीलता क्षेत्रमा श्रीमती आरती सिंह (उद्यमी) लाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष यादवले कार्यक्रमको अवसरमा भने, “हामी प्रत्येक वर्ष समाजमा प्रेरणादायी कार्य गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएका छौं। यस परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानको कदर गरिएको हो।”

संस्थाका पूर्व अध्यक्ष, समाजसेवी एवं वरिष्ठ उद्योगपति गनेश लाठले संस्था बुद्ध पूर्णिमाकै दिन स्थापना भएको स्मरण गर्दै समाजसेवामा यस संस्थाको महत्वपूर्ण भूमिकाको चर्चा गरे। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उद्योग वाणिज्य संघ बीरगन्जका अध्यक्ष हरि गौतमको आतिथ्य रहेको थियो।

कार्यक्रममा श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, वरिष्ठ अधिवक्ता बाल मुकुन्द खरेल, अशोक वैद्य, गनेश लाठ, माधव राजपाल, अनिल पटवारीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

समारोहमार्फत गौतम बुद्धको शिक्षालाई स्मरण गर्दै शान्ति, सेवा र सद्भावको सन्देश फैलाउने प्रयास गरिएको आयोजकले जानकारी गराएको छ। कार्यक्रममा स्थानीय विशिष्ट व्यक्तिहरू, समाजसेवी, व्यापारी, बुद्धिजीवी, शिक्षाविद् र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

Scroll to Top