वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ

Spread the love

अर्जुन चौधरी

वीरगंज, २९ वैशाख 

 वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका सवारी साधन र संरचनाहरू हटाउन तीव्र अभियान थालेको छ। महानगर प्रहरी र महानगरका कर्मचारीहरूको संयुक्त टोलीले आइतबार जगर्नाथपुर क्षेत्रको फुटपाथमा अव्यवस्थित रूपमा राखिएका दुई वटा रोलर हटाएको छ।

महानगरपालिकाका अनुसार फुटपाथ, सडक र सार्वजनिक स्थानहरूमा लामो समयदेखि बेवारिसे रूपमा छोडिएका सवारी साधन, निर्माण सामग्री र अन्य संरचनाहरू हटाएर नगरको सौन्दर्य र आवागमन सहज बनाउन अभियान सञ्चालन गरिएको हो।

महानगर प्रहरी प्रमुखले बताए अनुसार ‘‘फुटपाथ र सडक ओगटेर राखिएका यस्ता वस्तुहरूले सर्वसाधारणको आवतजावतमा असहजता मात्र होइन, दुर्घटनाको जोखिमसमेत बढाउँछ। त्यसैले बेवारिसे र अव्यवस्थित सामग्रीहरूलाई हटाउने कार्यलाई निरन्तरता दिइनेछ।’’

महानगरपालिकाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सार्वजनिक स्थानमा अनधिकृत रूपमा सामग्री नराख्न आग्रह गर्दै पटक–पटक सूचना जारी गरिसकेको छ। निर्धारित समयावधिमा नहटाइएका सामग्रीहरू महानगरले आफैं हटाउने र कानुनी कारबाहीसमेत अघि बढाइने चेतावनी दिएको छ।

यस अभियानले वीरगंज शहरको आवागमन व्यवस्थापनमा सहजता ल्याउनुका साथै नगरको वातावरण सफा र व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

Scroll to Top