विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा, १४ वर्षे सुनौलो युगको समापन

Spread the love

भारतीय क्रिकेटको चम्किलो तारा विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। कोहलीले सोमबार सामाजिक सञ्जालमार्फत “#269 signing off” लेख्दै आफ्नो १४ वर्ष लामो टेस्ट करियरलाई विदा दिएका हुन्। २६९ उनको टेस्ट क्याप नम्बर हो।

२०२५ को इंग्ल्याण्ड भ्रमणको तयारी गरिरहेका कोहलीको निर्णय अप्रत्याशित मानिएको छ। उनका रणजी प्रशिक्षक सरनदीप सिंहका अनुसार कोहलीले हालैसम्म पनि टेस्टका लागि तयारी गरिरहेका थिए र सन्यासको कुनै संकेत दिएका थिएनन्।

कोहलीले २०११ मा वेस्ट इन्डिजविरुद्ध आफ्नो टेस्ट यात्रा सुरु गरेका थिए। १२३ टेस्ट खेलमा ९,२३० रन बनाएका उनले ३० शतक र ३१ अर्धशतक प्रहार गरे। कप्तानका रूपमा ६८ टेस्ट खेलमा ४० जित निकाल्दै उनले भारतलाई टेस्ट क्रिकेटमा ऐतिहासिक सफलता दिलाए। उनको कप्तानीमा भारत विश्व टेस्ट च्याम्पियनशिपको दुईपटक फाइनलमा पुग्न सफल भयो।

उनको आक्रामक कप्तानी शैली, उत्कृष्ट फिटनेस र टेस्ट क्रिकेटप्रतिको समर्पणले उनलाई युगान्तकारी खेलाडी बनाएको छ। कोहलीको सन्यासले भारतीय मात्र होइन, विश्व क्रिकेटमा पनि भावनात्मक तरंग ल्याएको छ। सामाजिक सञ्जालमा #EndofanEra जस्ता ह्यासट्यागहरू ट्रेन्ड भइरहेका छन्।

विराट कोहली अहिले पनि एकदिवसीय क्रिकेट र आईपीएलमा सक्रिय छन्। रॉयल च्यालेन्जर्स बेंगलोरका लागि खेलिरहेका कोहली अझै पनि क्रिकेट प्रेमीहरूका लागि प्रेरणा बन्ने छन्।

Scroll to Top