वीरगञ्ज नर्सिङ क्याम्पसमा प्रेरणादायी मोटिभेसनल तालिम सम्पन्न

Spread the love

वीरगञ्ज, जेठ ११

 नेपाल इनोभेटिभ सोसाइटीको आयोजना र वीरगञ्ज नर्सिङ क्याम्पसको सहकार्यमा एक दिने प्रेरणादायी मोटिभेसनल तालिम कार्यक्रम वीरगञ्ज नर्सिङ क्याम्पसमा सम्पन्न भएको छ। कार्यक्रममा करिब १०० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विद्यार्थीहरूलाई जीवनोपयोगी ज्ञान र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमका प्रमुख वक्ताहरूले महत्त्वपूर्ण विषयमा प्रकाश पारेका थिए।

कार्यक्रममा डा. निरज कुमार सिंहले “जीवन र त्यो एक घण्टा” शीर्षकमा समय व्यवस्थापनको महत्त्व र उद्देश्यपूर्ण जीवनशैली अपनाउने तरिकाहरू प्रस्तुत गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई समयको सदुपयोग गरी आफ्नो लक्ष्य प्राप्तिका लागि कसरी अघि बढ्ने भन्ने बारेमा मार्गदर्शन दिनुभयो।

त्यसैगरी, डा. प्रीति यादवले “सकारात्मक मानसिक स्वास्थ्य जागरूकता” विषयमा आफ्नो प्रस्तुति दिनुभयो। उहाँले विद्यार्थीहरूलाई मानसिक रूपमा सशक्त बनाउन र जीवनमा सकारात्मक सोचको विकास गर्न आवश्यक उपायहरूका बारेमा जानकारी गराउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख डा. कल्पना पौडेलले नर्सिङ विद्यार्थी र स्वास्थ्यकर्मीहरूको लागि प्रेरणा र मानसिक स्वास्थ्यको महत्त्वमाथि जोड दिनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष श्रीमती मौसमी सुनुवार रानाले समन्वयको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले समाजले यस्ता शैक्षिक र प्रेरणादायी कार्यक्रमहरू आयोजना गर्दै आएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा वीरगञ्ज महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री जगत प्रसाद साह कानु, वडा प्रहरी कार्यालय, विर्ताका इन्स्पेक्टर श्री निरोज चौलागाई, नेपाल इनोभेटिभ सोसाइटीका सचिव श्री ऋषि राज साट्याल, सह-सचिव तथा लिटिल बड्डी प्रिस्कूल, वीरगञ्जका निर्देशक श्री विजय कुमार बल, नेपाल इनोभेटिभ सोसाइटीकी सदस्य डा. स्वाति गुप्ता, र वीरगञ्ज नर्सिङ क्याम्पसकी विभाग प्रमुख श्रीमती सबिना अधिकारी लगायत हुनुहुन्थ्यो।

कार्यक्रमको सञ्चालन निशा साहले सहज र आकर्षक शैलीमा गर्नुभएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेलिन्।

अन्तमा, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईले कार्यक्रममा उपस्थित सबै अतिथि र सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने आशा व्यक्त गर्नुभयो। यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूलाई शैक्षिक तथा व्यक्तिगत रूपमा अगाडि बढ्न थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।

Scroll to Top