वीरगञ्ज, पौष ९

 निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताले विद्यार्थी खेलाडीहरूको उत्साह थप बढाएको छ। प्रतियोगिताको आठौँ दिन आदर्शनगरस्थित क्रिकेट मैदानमा छात्रा र जुनियर छात्रतर्फ गरी पाँच वटा प्रतिस्पर्धात्मक खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन्।

आठौँ दिनको पहिलो खेलमा जुनियर छात्रतर्फ कालीकमाई स्कुल र सुर्योदय सेकेन्डरी स्कुल आमनेसामने भएका थिए। टस जितेर ब्याटिङ गरेको कालीकमाई स्कुललाई सीमित रनमै रोक्दै सुर्योदय सेकेन्डरी स्कुलले ७ विकेटको सहज जित हात पार्‍यो। यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोहन ठाकुर म्यान अफ द म्याच घोषित भए।

छात्रातर्फ भएको दोस्रो खेलमा रोयल एकेडेमीले नवदीप एकेडेमीलाई ९ विकेटले पराजित गर्दै सशक्त उपस्थिति जनाएको छ। अनुशासित ब्याटिङ र प्रभावकारी बलिङका कारण रोयल एकेडेमीले खेल एकतर्फी बनायो। टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरेकी सोनी कुमारी म्यान अफ द म्याच बनिन्।

तेस्रो खेलमा जुनियर छात्रतर्फ ज्ञान वाटिका स्कुलले मिनिल्यान्ड सेकेन्डरी बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गर्‍यो। प्रतिस्पर्धात्मक खेलमा अलराउन्ड प्रदर्शन गरेका आयान अली म्यान अफ द म्याच घोषित भए।

चौथो खेल छात्रातर्फ लिटल फ्लावर सेकेन्डरी स्कुल र मुनलाइट एकेडेमीबीच भएको थियो। रोमाञ्चक खेलमा लिटल फ्लावरले ५ विकेटको जित निकाल्न सफल भयो। टोलीको जितमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी अर्चना ठाकुर म्यान अफ द म्याच बनिन्।

आठौँ दिनको अन्तिम खेलमा जुनियर छात्रतर्फ गोल्डेन फ्युचरले सेन्ट जेभियर्सलाई ८ विकेटले पराजित गर्दै शानदार जित दर्ता गर्‍यो। यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितेश कुशवाहा म्यान अफ द म्याच घोषित भए।

आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूको प्रतिभा उजागर गर्न उल्लेखनीय भूमिका खेलेको छ। प्याब्सन महानगर सचिव अमित आलोकले गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पनि प्याब्सनले समान रूपमा ध्यान दिँदै आएको बताए। सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक तथा अभिभावकहरूको सक्रिय सहभागिताले प्रतियोगिता अझ उत्साहपूर्ण बनेको उनको भनाइ छ।

Share.
Leave A Reply

Exit mobile version