वीरगञ्ज कारागारमा क्षमता नाघी १,३१० कैदी–थुनुवा, व्यवस्थापनमा थप चुनौती

Spread the love

वीरगञ्ज, भदौ ३ 


वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण हुँदै गएको र क्षमताभन्दा बढी कैदी–थुनुवा राखिएको कारण व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ।

जिल्ला कारागार पर्साका प्रमुख खिमराज भुसालका अनुसार एक हजार कैदी राख्ने क्षमता भएको कारागारमा हाल एक हजार तीन सय १० जना कैदी तथा थुनुवा रहेका छन्। “क्षमताभन्दा धेरै कैदी र थुनुवा हुँदा व्यवस्थापनमा समस्या भैरहेको छ,” उनले बताए।

वि.सं. २०२९ देखि सञ्चालनमा आएको वीरगञ्ज कारागार पुरानो ढाँचाको संरचना भएकाले अझै असहज भएको छ। खुला ठाउँमा कारागार भए व्यवस्थापन सहज हुने भुसालको भनाइ छ। यसअघि वीरगञ्जको चिनी मिल क्षेत्रमा १८ बिघा जग्गामा कारागार सार्ने योजना बनाइए पनि अझै मूर्तरूप लिन सकेको छैन।

हाल कारागारमा रहेका कैदी–थुनुवामध्ये १,०४६ जना स्वदेशी पुरुष, पाँच जना महिला कैदी, ४२ जना महिला थुनुवा र दुई जना आश्रित बालिका छन्। त्यस्तै, १९९ जना विदेशी पुरुष र १६ जना विदेशी महिला कैदी तथा थुनुवा रहेका छन्।

कुल १,३१० मध्ये ३२९ जना कैदी र ९७९ जना थुनुवा रहेका छन्। कारागारमा प्रायः पर्सा र बारा जिल्लामा अपराध गरेर अदालतबाट दोषी ठहर भएका वा पुर्पक्ष थुनुवामा पठाइएका व्यक्तिहरूलाई राखिन्छ।

कारागारमा कहिलेकाहीँ मौसमी रोगको समस्या देखिने गरेको प्रमुख भुसालले बताए। सामान्य बिरामीलाई स्वास्थ्य सहायकमार्फत उपचार गराइन्छ भने जटिल अवस्थामा नारायणी अस्पताल पठाइने गरिएको छ।

हाल कारागार परिसरमा ४७ वटा शौचालय मात्र रहेका छन्, जसका कारण कैदी तथा थुनुवाले आलोपालो प्रयोग गर्नुपर्ने बाध्यता छ।

 वीरगञ्ज कारागारको समस्या समाधानका लागि नयाँ संरचना निर्माण र क्षमताअनुसार कैदी व्यवस्थापन आवश्यक देखिएको सरोकारवालाको भनाइ छ।

Scroll to Top