बीरगञ्ज , फाल्गुन १५

होली पर्वको शुभ अवसर पारेर सनसाइन बोर्डिङ स्कुलले दुईदिने होली मिलन समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याप्सन महानगर सचिव अमित आलोकको अध्यक्षता तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

होली मिलन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीवास्तवले होली पर्वले नेपाली समाजमा आपसी सद्भाव, माया र सहिष्णुता बढाउने उल्लेख गर्दै सबैलाई शान्तिपूर्ण र मर्यादित रूपमा होली मनाउन अपिल गर्नुभयो। उहाँले विभिन्न रङ जस्तै नेपालका जाति, धर्म र संस्कृतिहरू पनि विविधतामा एकता कायम गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, सनलाइट कलेजका प्रिन्सिपल, हिसानका उपाध्यक्ष तथा प्याप्सनका प्रमुख सल्लाहकार आलोक चौरसियाले होली पर्वले सबैको घर–घरमा खुसीयाली ल्याओस् भन्ने कामना गर्दै आपसी सद्भाव र प्रेम साटासाट गर्दै सप्तरङ्गी होली मनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा प्याप्सन पर्सा जिल्ला कार्यसमितिका सचिव अशोक संग्रौला, प्याप्सन महानगर सदस्य विजय बल, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव, प्याप्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा, सन्नी पाख्रिङ, प्याप्सन कोषाध्यक्ष सुरज बाबु पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 कार्यक्रमको सहजीकरण शिक्षक दीपक कुसुहाले गर्नुभएको थियो।

होली मिलन समारोहमा सनसाइन बोर्डिङ स्कुलका शिक्षक–शिक्षिकाहरू तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Share.
Leave A Reply

Exit mobile version