सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी पत्रकारहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Spread the love

अर्जुन चौधरी 

वीरगञ्ज, वैशाख २५

सुरक्षित र जिम्मेवार वैदेशिक रोजगारी प्रवर्द्धनका लागि वीरगञ्जस्थित होटल गेटवे, घण्टाघरमा एकदिने अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्रै जाऊ’ भन्ने नारासहित सम्पन्न कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा पीडित श्रमिकहरुको आवाज बुलन्द पार्नु रहेको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी सही र विश्वसनीय सूचना प्रवाहमा सञ्चारकर्मीको भूमिका, वैदेशिक रोजगारीमा जाने क्रममा हुने जोखिम र ठगीका समस्या, साथै सुरक्षित आप्रवासनका उपायबारे विस्तृत छलफल गरिएको थियो। साथै, रोजगारी सूचना केन्द्र सञ्चालनसम्बन्धी जानकारीसमेत सहभागीहरूलाई प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न सूचनाको पहुँच र सीप विकास अपरिहार्य रहेको औँल्याए। कार्यक्रम संयोजक रमाशंकर कुशवाहासहित विभिन्न सञ्चार माध्यमका सम्पादक तथा पत्रकारहरुको समेत विशेष उपस्थिति रहेको थियो।

अन्तर्क्रियामा सहभागी सञ्चारकर्मीहरुले वैदेशिक रोजगारीसम्बन्धी समाचार लेख्दा स्रोतको विश्वसनीयता, श्रमिक पीडितहरुको पक्षमा सशक्त भूमिका खेल्ने आवश्यकता र समाचार प्रकाशनमा सावधानी अपनाउनुपर्ने कुरामा जोड दिएका थिए।

कार्यक्रममा सरकारद्वारा सञ्चालित ‘नो एजेन्ट’ कार्यक्रम र ‘फ्री भिसा फ्री टिकट’ सम्बन्धी विषयमा पनि छलफल भएको थियो। साथै, सुरक्षित आप्रवासन (सामी) ले वैदेशिक रोजगारीमा नजान चाहने वा फर्केका व्यक्तिहरुका लागि विभिन्न किसिमका तालिम र सहयोग कार्यक्रमहरुको व्यवस्था गरिरहेको जानकारी दिइयो। वैदेशिक रोजगारीमा जानु अघि देखी फर्केर स्वदेश आउँदासम्मका समस्या र समाधानबारे समेत समग्र छलफल गरिएको थियो।

Scroll to Top