गौतम स्कूलमा लागू औषध रोकथाम तथा नियन्त्रण कार्यक्रम सम्पन्न

Spread the love

वीरगञ्ज वैशाख २५

लागू औषधको दुरुपयोगविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गौतम स्कूलमा लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। विजाम (विज्ञान एवं जीवन अभ्यासन मञ्च) को संयुक्त प्रयासमा गौतम स्कूलको कभर्ड हलमा आयोजित उक्त कार्यक्रम विद्यालयका कक्षा ९ का विद्यार्थीहरूका लागि लक्षित गरिएको थियो।

कार्यक्रमको सञ्चालन विजामका सुबोध पौडेलले गर्नुभएको थियो। उहाँले लागू औषधका विभिन्न प्रकार, त्यसको सेवनले निम्त्याउने स्वास्थ्य र सामाजिक असरहरू, दुर्घटना र जीवनशैलीमा पर्ने नकारात्मक प्रभावहरूका बारेमा स्पष्ट जानकारी दिनुभयो। साथै, विद्यार्थीहरूलाई लागू औषधबाट टाढा रहन उत्प्रेरित गर्दै सकारात्मक सोच, स्वस्थ जीवनशैली र समुचित निर्णय क्षमताको विकासमा जोड दिनुभएको थियो।

छलफलमुखी ढंगले सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूले लागू औषध सम्बन्धी जिज्ञासाहरू राखेका थिए र कार्यक्रम सञ्चालकद्वारा तिनको समाधान गरिएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट महत्वपूर्ण ज्ञान र मार्गदर्शन प्राप्त गरेको अनुभूति व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा गौतम स्कूलका प्रतिनिधिहरूले यस्ता सचेतनामूलक कार्यक्रमहरू विद्यालयमा निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। विद्यालय प्रशासनका अनुसार, भविष्यमा पनि विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने विविध कार्यक्रमहरू ल्याइनेछ।

विद्यालयका प्रधानाध्यापक सोनम लामाले भने, “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सुरक्षित, स्वस्थ र जिम्मेवार नागरिक बनाउनु हो। लागू औषधको बढ्दो चुनौतीलाई ध्यानमा राख्दै यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिनेछ।”

Scroll to Top