जम्मु कश्मीर आतङ्कवादी हमलाप्रति वीरगञ्जमा श्रद्धाञ्जली, सनातन हिन्दु समाजद्वारा कार्यक्रम सम्पन्न

Spread the love

वीरगञ्ज, ११ बैशाख

भारतको जम्मु कश्मीरको पहलगामस्थित बैसरन घाटीमा मङ्गलवार भएको आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति वीरगञ्जमा श्रद्धाञ्जली अर्पण गरिएको छ। सनातन हिन्दु समाजको आयोजनामा बुधबार वीरगञ्जको गहवामाई मन्दिर परिसरमा आयोजित विशेष श्रद्धाञ्जली सभामा विभिन्न हिन्दुवादी संघ–सङ्गठनका अगुवा तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले उक्त बर्बर हमलाको कडा निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो। कार्यक्रममा राष्ट्रिय समता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादले आतङ्कवादीहरूले हिन्दु धर्मावलम्बीलाई लक्षित गरी छानीछानी हत्या गरेको आरोप लगाउँदै यस्तो निन्दनीय कार्यविरुद्ध अन्तर्राष्ट्रिय समुदायले कडा कदम चाल्नुपर्ने धारणा राखे।

उनले भने, “घुमघामका लागि पुगेका निर्दोष हिन्दु पर्यटकहरूलाई इस्लामिक आतङ्ककारीहरूले हिन्दु भएको आधारमा हत्या गर्नु अमानवीय र घोर निन्दनीय छ। यस्ता घटनाले हिन्दु समुदायमाथि योजनाबद्ध आक्रमण भइरहेको स्पष्ट हुन्छ।” उनले मृतक नेपाली नागरिक सुदीप न्यौपानेकी घाइते आमाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारत र नेपाल सरकार दुवैसँग आवश्यक कदम चाल्न आग्रह गरे।

घटनामा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। घाइतेहरूमध्ये सुदीपकी आमा समेत रहेका छन्।

सनातन हिन्दु समाजले हमलालाई हिन्दु समुदायमाथिको सुनियोजित आक्रमणको रूपमा व्याख्या गर्दै आतंकवादको कडा विरोध गरेको छ। समाजले भारत सरकारसँग दोषीमाथि कठोर कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन कडा सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ। साथै, नेपाल सरकारसँग पनि मृतक नेपालीको परिवारलाई राहत र घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउन आग्रह गरेको छ।

कार्यक्रममा स्थानीय धर्मगुरु, समाजसेवी, युवा समूह र धार्मिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। श्रद्धाञ्जली सभामा मन्दिर प्राङ्गणमा दीप प्रज्वलन र मौनधारण गरी मृतात्माहरूको शान्तिको कामना गरिएको थियो।

Scroll to Top