वीरगन्जमा १५ लाखभन्दा बढी मूल्यको औषधिसहित तस्कर पक्राउ

Spread the love

वीरगन्ज, १२ बैशाख

वीरगन्जबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ। भारतबाट अटोमार्फत तस्करी गरी ल्याउँदै गरिएको ४८० डब्बा न्युट्रिक्योर क्याप्सुल सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–२४, रामगढवास्थित सडकबाट बरामद गरेको हो।

बरामद औषधिसँगै ना २ स १०१७ नम्बरको अटोका चालक वीरगन्ज–२५ सिर्सियाका ३६ वर्षीय अमृत साह कानुलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

साथै तस्करीमा संलग्न रहेका भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकलहरू पनि नियन्त्रणमा लिइएको उनले बताए। बरामद औषधिको मूल्य करिब ९ लाख ६० हजार रुपैयाँ रहेको छ भने अटो र मोटरसाइकलहरूको मूल्य ६ लाख रुपैयाँ आँकलन गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार अटो चालक कानुसहित सबै पक्राउ परेका सामग्रीहरू आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

Scroll to Top