सहकारी तथा लघुवित्त पीडितद्वारा काठमाडौंमा अर्धनग्न जुलुस प्रदर्शन बचत फिर्ताको माग गर्दै सरकारलाई चेतावनी

Spread the love

वीरगञ्ज, १५ वैशाख 

सहकारी तथा वित्तीय संस्थाबाट ठगिएका पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न जुलुस प्रदर्शन गरेका छन्। “सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपाल”को आयोजनामा गरिएको उक्त विरोध कार्यक्रममा सहभागीहरूले “हाम्रो माग पूरा नभए, हामी नाङ्गो हुन पनि तयार छौँ” भन्ने चेतावनी दिएका थिए।

प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित अर्धनग्न अवस्थामै सरकारविरुद्ध चर्का नाराबाजी गरे। उनीहरूले सरकारसँग आफ्नो मेहनतको बचत रकम तत्काल फिर्ता गराउन माग गरेका छन्। सहकारी तथा लघुवित्त संस्थाहरूमा भएको ठगी र अनियमितताका कारण हजारौँ सर्वसाधारणको पैसा फसेपछि उनीहरू लामो समयदेखि आन्दोलनमा छन्।

तर, सरकारले अहिलेसम्म ठोस कदम चाल्न नसकेको भन्दै पीडितहरू आक्रोशित भएका हुन्। आन्दोलनकारीहरूको भनाइमा, “सरकारले हामीलाई थामथुम पार्न खोजेको छ, तर हाम्रो धैर्यको सीमा सकिएको छ। अब हामी थप सशक्त आन्दोलनमा उत्रनेछौँ।”

उनीहरूले छिट्टै समस्या समाधान नभए कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन्। आन्दोलनको क्रममा विभिन्न सहकारी सञ्चालक तथा सरकारका सम्बन्धित निकायलाई समेत कारबाही गर्न माग गरिएको छ।

संघीय सरकारअन्तर्गत गठित सहकारी समस्या समाधान आयोगले अनुसन्धान थाले पनि अझै ठोस नतिजा आउन सकेको छैन। पीडितहरूले आयोगको कामप्रति पनि असन्तुष्टि जनाएका छन्।

यसअघि पनि पीडितहरूले राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्रालयसम्म ध्यानाकर्षण गराइसकेका थिए, तर आफ्ना मागप्रति सरकार गम्भीर नभएको उनीहरूको आरोप छ।

आन्दोलनकारीहरूले आगामी दिनमा काठमाडौंमा थप ठूला प्रदर्शन र घेराउ कार्यक्रम गर्ने तयारीसमेत गरिरहेका छन्।

Scroll to Top