मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम वीरगंजमा सम्पन्न

Spread the love

वीरगंज, वैशाख १५

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्सा तथा आफन्त नेपाल वीरगंज पर्साको संयुक्त आयोजनामा मानव बेचबिखन तथा लैंगिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

वीरगंज महानगरपालिका वडा नं. १० मा अवस्थित हरि खेतान बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब २२० जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको विशेष आतिथ्य रहेको थियो भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए। कार्यक्रम विशेषत: मानव बेचबिखन र लैंगिक हिंसाका कारण, परिणाम र निवारणका उपायबारे विद्यार्थीहरूलाई सुसूचित र सचेत गराउने उद्देश्यले आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, नारायणी अस्पताल वीरगंज अन्तर्गत सञ्चालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) का स्वास्थ्यकर्मीहरू, आफन्त नेपालका प्रतिनिधिहरू, तथा सेवा केन्द्रका पदाधिकारीहरू उपस्थित थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक (एसपी) राधेश्याम धिमाल, सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेक्वा वीरगंजका प्रहरी निरीक्षक निरोज चौलागाईं, प्रहरी निरीक्षक प्रदीप कुमार गोले, हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख, नारायणी अस्पताल OCMC शाखाकी नर्सिङ अधिकृत हेमा थापा, सामाजिक अभियन्ता मनु राणा लगायत विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य सेवा केन्द्रका उपाध्यक्षद्वारा प्रस्तुत गरिएको थियो भने कार्यक्रम सञ्चालन सेवा केन्द्रका महासचिवले गरेका थिए।

उक्त अभिमुखीकरण सत्रमा मानव बेचबिखनका विभिन्न स्वरूपहरू, त्यसको कानुनी परिभाषा, दण्डसज्जा तथा जरिवाना सम्बन्धी व्यवस्था, साथै लैंगिक हिंसाका प्रकारहरू, पीडित संरक्षणका उपायहरू, सरकार तथा गैरसरकारी संस्थाहरूको भूमिका र सेवासुविधाहरूको बारेमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गणेश अर्यालले मानव बेचबिखन तथा लैंगिक हिंसा जस्ता अपराधहरू रोक्न सामुदायिक सचेतना र प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले विद्यार्थीहरूलाई कानुनी ज्ञानको महत्त्व र सामाजिक दायित्वबोधको सन्देश दिनुहुयो।

जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले मानव बेचबिखन रोक्नका लागि भइरहेको प्रहरी प्रशासनको प्रयास र सर्वसाधारणको सहकार्यको आवश्यकता औँल्याउनु भयो। साथै, कार्यक्रमका अन्य विशिष्ट अतिथिहरूले पनि आफ्नो मन्तव्य राख्दै मानव बेचबिखन र लैंगिक हिंसा विरुद्धको लडाइँमा सबैको साझा भूमिकाको आवश्यकता रहेको कुरा जोड दिनुभयो।

कार्यक्रमको समापनमा अध्यक्ष जय प्रकाश खेतानले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रमले विद्यार्थीहरूमा मानव बेचबिखन तथा लैंगिक हिंसा सम्बन्धी गहिरो समझदारी र चेतना अभिवृद्धि गराएको सहभागीहरूले बताएका छन्।

Scroll to Top