बैशाख १६, बिरगंज
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ठूलो मात्रामा लागुऔषध अफिम बरामद गर्न सफल भएको छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित ठाकुर सिं मोक्तानको घरमा खानतलासी गर्दा ३ किलो ८६० ग्राम अफिम जस्तो देखिने गिलो पदार्थ फेला पारेको हो।
प्रहरीका अनुसार उक्त लागुऔषध मोक्तानको कोठाभित्र सुत्ने खाटमा लुकाइछिपाई राखिएको अवस्थामा भेटिएको हो। बरामद गरिएको पदार्थ प्रारम्भिक अनुमानमा अफिम भएको र त्यसको परिक्षण तथा प्रमाण संकलन कार्य भइरहेको जानकारी प्रहरीले दिएको छ।
पक्राउ परेका मोक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध कसुर अन्तर्गत ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी स्रोतका अनुसार लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्ति वा सञ्जालको पनि खोजी कार्य तीव्र पारिएको छ। यस प्रकरणले मकवानपुर जिल्लामा लागुऔषध समस्या अझै गम्भीर रहेको संकेत गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।
यसअघि पनि हेटौंडा आसपासका क्षेत्रमा विभिन्न खाले लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका थिए। प्रहरीले सर्वसाधारणलाई लागुऔषध कारोबारविरुद्ध सहयोग गर्न अनुरोध गर्दै कुनै शंका लागेमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
थप अनुसन्धान जारी छ।



