वीरगञ्ज, बैशाख १६
वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोलमा चार कोठे छात्रावास भवनको शिलान्यास गरिएको छ। वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप कुमार चौरसियाको विशेष पहलमा मंगलवार एक कार्यक्रमबीच “आदर्श थारु छात्रावास” भवनको शिलान्यास सम्पन्न गरिएको हो।
मधेश प्रदेश सरकारको सहयोगमा ४५ लाख रुपैयाँको लागतमा निर्माण थालिएको यस छात्रावास भवनले थारु समुदायका विद्यार्थीहरूलाई सुरक्षित र सहज आवासीय सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ। वडाअध्यक्ष चौरसियाले शिलान्यास समारोहमा बोल्दै छात्रावास भवन निर्माणले विद्यार्थीहरूलाई अध्ययनमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे। साथै, उनले आगामी वर्षहरूमा पनि थप बजेटको पहल गरेर भवनलाई अझै व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।
शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष सुवोध कुमार वर्णवालको समेत उपस्थिति रहेको थियो। सो अवसरमा वडा नम्बर ५ का वडा सदस्यहरु रुस्तम अली, मनोज साह, सञ्जु दहाल, मञ्जु परियार, समाजसेवी मोती जी, नविन न्यौपाने, आदर्श थारु छात्रावासका कोषाध्यक्ष हृदयनारायण चौधरी, सदस्य जयनारायण चौधरी लगायत कुम्हालटोलका अभिभावक तथा स्थानीय आमनागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय स्तरमै थारु समुदायका विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न यस्ता पूर्वाधारको निर्माणले महत्वपूर्ण योगदान पुर्याउने स्थानीयको विश्वास रहेको छ। छात्रावासको निर्माण कार्य चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना रहेको छ।



