पूर्णरूपेण अशक्त व्यक्तिलाई ह्वील चेयर सहयोग — उपकार सेवा नेपालको मानविय पहल

Spread the love

वीरगन्ज, ६ जेठ 

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनर्वामा शारीरिक रूपमा पूर्ण रूपमा अशक्त एक व्यक्तिलाई परोपकारी संस्था उपकार सेवा नेपालले ह्वील चेयर सहयोग गरेको छ। हिँडडुल गर्न समेत असमर्थ ती व्यक्तिलाई संस्थाले घरमै पुगेर सहयोग स्वरूप ह्वील चेयर प्रदान गरेको हो।

सामाजिक अभियन्ता प्रकाश प्रसाद थारुले ती व्यक्तिको अवस्थाबारे जानकारी गराएपछि उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीको नेतृत्वमा टोलीले घरमै पुगेर सहयोग गरेको हो। अध्यक्ष सरावगीले भनिन्, “हामीले यो सहयोग ती व्यक्तिको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले गरेका हौं।”

ह्वील चेयर हस्तान्तरण कार्यक्रममा संस्थाकी अभिभावक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूद्वारा यस्ता मानवीय कार्यले समाजमा सकारात्मक ऊर्जा र सेवा भावको विकास हुने विश्वास व्यक्त गरिएको थियो।

उपकार सेवा नेपालले यसअघि पनि शारीरिक रूपमा अपांग, बिपन्न तथा असहाय वर्गका नागरिकलाई विभिन्न किसिमको सहयोग गर्दै आइरहेको छ।

Scroll to Top