वीरगञ्ज, वैशाख १७
हिन्दू धर्मका महान योद्धा, तपस्वी र न्यायको प्रतीक भगवान श्री परशुरामको जयन्ती तथा अक्षय तृतीयाको अवसरमा पर्सा जिल्लामा बुधवार एक भव्य शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण मानिने यस अवसरमा पर्साका स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख आयोजना बृहस्पति फाउन्डेशन नेपालद्वारा गरिएको थियो, जसको नेतृत्व फाउन्डेशनका अध्यक्ष डा. पुरुषोत्तम दुबेले गरेका थिए। श्री परशुराम जयन्ती समारोह समिति, पर्साका संयोजक पं. रतनेश तिवारीले कार्यक्रम सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ व्यक्तित्व देवनाथ उपाध्याय रहनु भएको थियो भने ब्राह्मण समाज नेपाल, पर्साका अध्यक्ष कामेश्वर मिश्रले सभापतिको भूमिका सम्हाल्नुभएको थियो।

वक्ताहरूले भगवान परशुरामको जीवन, संघर्ष र समाजप्रतिको समर्पणबारे प्रकाश पार्दै यस्तो धार्मिक पर्वले सामाजिक ऐक्यबद्धता, सांस्कृतिक जागरण तथा राष्ट्रिय एकताको सन्देश दिने विश्वास व्यक्त गरे। वक्ताहरूले आजको समयमा परशुरामको शिक्षाबाट प्रेरणा लिएर समाजमा न्याय, सत्य र धर्मको स्थापनाका लागि सक्रिय भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा स्थानीय धर्मगुरुहरू, समाजसेवीहरू, शिक्षाविद्हरू, पत्रकारहरू, महिला प्रतिनिधिहरू, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो। मन्तव्य कार्यक्रमपछि सहभागीहरूलाई प्रसाद वितरण गरिएको थियो। साथै, स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको थियो, जसले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो।
आयोजक बृहस्पति फाउन्डेशन नेपाल र श्री परशुराम जयन्ती समारोह समितिले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष–परोक्ष रूपमा साथ र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र व्यापक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
यस कार्यक्रमले धार्मिक सद्भाव, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।



