बिरगंज, वैशाख १८
१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, बिरगंज इकाईले बिहीबार विविध कार्यक्रमको आयोजना गरी दिवस भव्य रुपमा सम्पन्न गरेको छ। “श्रमको सम्मान गरौँ, श्रमिकको हक अधिकार सुनिश्चित गरौँ” भन्ने मूल नारासहित संघले बिरगंज नगर परिक्रमा गर्दै श्रमिक दिवस मनाएको हो।
कार्यक्रमको सुरुवात मोटरसाइकल र्यालीबाट गरिएको थियो, जसले बिरगंज नगरको विभिन्न मुख्य मार्गहरूको परिक्रमा गर्दै श्रमिकहरूको हक, अधिकार र सम्मानका बारेमा जनचेतना फैलायो। र्यालीपछि संघका सदस्यहरू नारायणी अस्पताल पुगेर अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका थिए। त्यसपछि श्रमिक दिवसको अवसरमा केक काटी उत्सवमय वातावरणमा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा संघका अध्यक्ष राम गोसाईले श्रमिकहरूको भूमिका अतुलनीय रहेको बताउँदै भने, “आज पनि विभिन्न बहानामा पूँजीपतिहरूले श्रमिकहरूको शोषण गरिरहेका छन्। हाम्रो संस्था सधैं सशक्त रूपमा यस्ता शोषणका विरुद्ध लडिरहनेछ। श्रमिकहरूको पसिना र समर्पणको मूल्य कुनैपनि हिसाबले मापन गर्न सकिँदैन। समाज, राष्ट्र र विकासको मेरुदण्ड नै श्रमिक हुन्।”
त्यसैगरी संस्थाका सचिव दीपेन्द्र कल्वारले श्रमिकहरूको सम्मानमा जोड दिँदै भने, “मजदुरलाई मजबुर नबुझ्नुस्, श्रमिक कसैको दास होइन। श्रम शोषण तथा श्रमिकमारा प्रवृत्तिहरूविरुद्ध हामी निडर रूपमा लडिरहने छौँ।”
कार्यक्रममा बिरगंज इकाईका सम्पूर्ण पदाधिकारीहरू, सदस्यहरू तथा स्थानीय श्रमिक समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले श्रमिक दिवसको महत्व र श्रमिक अधिकारको सुनिश्चितताका विषयमा व्यापक छलफल तथा प्रतिवद्धता व्यक्त गरेका थिए।
नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, बिरगंज इकाईले भविष्यमा पनि श्रमिक हकहितका विषयमा निरन्तर आवाज उठाइरहने प्रतिवद्धता जनाएको छ।



