वीरगञ्जमा धान, गहुँ, तरकारी तथा उखु बालीहरुको लाभ-लागत विश्लेषण कार्यशाला सम्पन्न

Spread the love

अर्जुन चौधरी

वीरगञ्ज, बैशाख १९

 वीरगञ्जस्थित मकालु होटलमा आज धान, गहुँ, तरकारी तथा उखु बालीहरुको लाभ-लागत विश्लेषण कार्यशाला गोष्ठी एक विशेष समारोहका बीच सम्पन्न भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सम्पन्न सो कार्यशालाको उद्देश्य कृषकहरु, विज्ञहरु र नीतिनिर्माताबीच बाली उत्पादनमा लागत, प्रतिफल र बजार सम्भावना सम्बन्धी जानकारी आदानप्रदान गर्नु रहेको थियो।

कार्यक्रमको अध्यक्षता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले गर्नुभयो। प्रमुख अतिथिका रूपमा उपस्थित माननीय कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले देशको कृषि क्षेत्रमा उत्पादन लागत र किसानको प्रतिफलबीचको असन्तुलन समाधान गर्न यस्ता विश्लेषणात्मक कार्यशालाहरुले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषिमा प्रविधि, सहकारी संस्था र बजार पहुँचको सशक्तीकरणमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो।

सो कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवको विशेष उपस्थिति रहेको थियो। अतिथि वक्ताहरुले बाली व्यवस्थापन, अनुदान नीति, कृषकहरुका समस्या तथा बजार व्यवस्थापनका विषयमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा प्रदेशभरिका कृषि अधिकारी, कृषक प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि तथा कृषि व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यशालामा धान, गहुँ, तरकारी तथा उखु बालीहरुको उत्पादन लागत, प्रतिफल र बजार मूल्यको तुलनात्मक विश्लेषण प्रस्तुत गरिएको थियो। सहभागीहरुले आफ्ना अनुभव तथा सुझावहरु राख्दै नीति निर्माणमा किसानमुखी कार्यक्रम अघि बढाउन आग्रह गरेका थिए।

कार्यक्रम संयोजक कृषि अर्थशास्त्र महाशाखाका प्रमुख रामेश्वर मल्लले कार्यशालाबाट संकलित सुझाव तथा निष्कर्षहरुलाई आगामी कृषि नीतिमा समावेश गरिने जानकारी दिनुभयो।

कार्यक्रम अन्त्यमा सचिव डा. उमेश दाहालले सहभागी तथा आयोजक सबैलाई धन्यवाद व्यक्त गर्दै कृषकको जीवनस्तर सुधारका लागि नीति र अभ्यास दुवैमा सुधारको आवश्यकता रहेको बताउनुभयो।

Scroll to Top