बीरगञ्ज महानगर ३१ मा ३५ दिने कम्प्युटर तालिम सम्पन्न

Spread the love

वीरगञ्ज, वैशाख २१

बीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ वडा कार्यालयको आयोजनामा र श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, सोलखपुरको सहकार्यमा सञ्चालित ३५ दिने कम्प्युटर तालिम आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

उक्त तालिममा कुल ३५ जना स्थानीय युवा तथा युवतीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको उद्देश्य स्थानीय युवाहरूलाई सूचना प्रविधिको ज्ञान प्रदान गर्दै स्वरोजगार र रोजगारीका अवसरहरू सिर्जना गर्नु रहेको वडा अध्यक्ष जितेन्द्र यादवले जानकारी दिनुभयो।

तालिम अवधिभर सहभागीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, इन्टरनेट प्रयोग, कार्यालय उपयोगका लागि आवश्यक सफ्टवेयरहरू (जस्तै: एमएस वर्ड, एक्सेल, पावरपोइन्ट) सञ्चालन, टाइपिङ कौशल तथा डिजिटल साक्षरतासम्बन्धी विविध विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। मधेश स्किल्ल तालिम केन्द्रका प्रशिक्षक धीरज साह र सन्तोष चौधरीले तालिम सञ्चालन गर्नुभएको थियो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष जितेन्द्र यादवले यस्ता सीपमूलक तालिमहरूले युवाहरूलाई आत्मनिर्भर बनाउन र स्थानीय स्तरमै रोजगार सिर्जना गर्न टेवा पुग्ने बताउनुभयो। उहाँले सहभागीहरूलाई बधाई र शुभकामना दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजु मालीले विद्यालयको तर्फबाट सहकार्यात्मक कार्यक्रमहरूमा साथ दिइरहने आश्वासन दिनुभयो। साथै कार्यक्रममा वडा सदस्यहरू वीरेन्द्र राय थारु, सेश अमिरुल हसन, मुरमती पासवान, अभिभावक संघका अध्यक्ष शेष फैयाज, समाजसेवीहरू बालेश्वर गौरो, रमाकान्त चौधरी, बालेश्वर खा, शिक्षक सुजन डंगोल, अमन पटेल लगायतको विशेष उपस्थिति रहेको थियो।

तालिम समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले आफूहरूलाई आत्मनिर्भर बन्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

Scroll to Top