कलैया वैशाख २१
देशकै पुरानो विद्यालयहरुमध्ये एक, श्री ३ चन्द्र मावि, कलैया, बारा जिल्लाको स्थापना गरेका शिक्षा प्रेमी स्व. अमर बहादुर फौजदारको योगदानलाई सम्मान गर्दै विद्यालय परिसरमा उहाँको शालिक स्थापनाको माग तीव्र भएको छ। वि.सं. १९८४ मा कलैयास्थित आफ्नै जग्गामा र छेउछाउको ऐलानी जमिन मिलाएर खरले छाएको घरमा विद्यालय स्थापना गरेका फौजदारले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका थिए।
आफ्नै गाउँ गडहलबाट खर र काठ ल्याएर विद्यालय निर्माण गरिएको थियो। स्थापना कालमा अमर सिंह सर र व्यास सरलाई भारतबाट बोलाई विद्यालयको कक्षा सञ्चालन गरिएको थियो भने पछि गिरिजाचरण कण्ठलाई समेत शिक्षकका रूपमा थपिएको थियो। त्यतिबेला राणाकालको कडा नियन्त्रणबीच विद्यालय खोलिएको विषय चन्द्र शमशेर समक्ष उजुरी परेपछि, “मैले आफ्नै नाममा हैन हजुरकै नाममा विद्यालय खोलेको हुँ” भन्ने फौजदारको जवाफले मात्र विद्यालय सञ्चालन गर्न अनुमति प्राप्त भएको थियो।
स्थापनाकालमा प्राथमिक तहको रूपमा सञ्चालनमा आएको विद्यालय वि.सं. २००७ मा माध्यमिक विद्यालयमा स्तरोन्नति भएको थियो। स्व. फौजदारले ज्यानको जोखिम मोलेर समेत शिक्षा विस्तारमा गरेको योगदान स्मरणीय रहेको सरोकारवालाहरू बताउँछन्। स्थानीय बासिन्दा र शिक्षा क्षेत्रका व्यक्तिहरूले स्व. अमर बहादुर फौजदारको योगदानको कदर गर्दै विद्यालय परिसरमा उहाँको शालिक स्थापनाका लागि सम्बन्धित निकायमा आग्रह गरेका छन्, ताकि भविष्यका पुस्ताले पनि उहाँको योगदानबारे जान्न सकून् र प्रेरणा लिन सकून्।



