वीरगंजमा भन्सार छली गरेर ल्याइएका ठूलो परिमाणका मोबाइल सामान बरामद

Spread the love

वीरगञ्ज वैशाख २५

वीरगंज महानगरपालिका वडा नं. ०८ स्थित माईस्थान पछाडिको सडक खण्डबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका ठूलो मात्रामा मोबाइल उपकरणहरू सहितको मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ।

बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईंको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सो स्थानबाट मोबाइलमा प्रयोग हुने हार्ड ग्लास २० प्याकेट र विभिन्न ब्राण्डका ब्लुटुथ एअरपड्स ३७२ थान फेला पारी बरामद गरेको हो। प्रारम्भिक अनुमान अनुसार बरामद सामग्रीको बजार मूल्य करिब रु. ४ लाख ५४ हजार ४ सय बराबर रहेको बताइएको छ।

बरामद गरिएको सामग्रीलाई आवश्यक कारबाहीको प्रक्रियाका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भारतबाट सस्तो मूल्यमा चोरी पैठारी गरी भन्सार दस्तुर नतिरी नेपाल भित्र्याउने कार्य बढ्दै गएकाले निगरानी थप कडा बनाइएको छ।

यस किसिमको अवैध व्यापारले सरकारी राजस्वमा गम्भीर क्षति पुर्‍याउने मात्र होइन, बजार प्रतिस्पर्धामा समेत असमानता निम्त्याउने भएकाले सुरक्षा निकाय थप सक्रिय बन्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, प्रहरीले घटनासँग सम्बन्धित व्यक्ति वा गिरोहको खोजी कार्य तीव्र पारिएको जनाएको छ।

Scroll to Top