वीरगंजमा बहाल करप्रति घरधनीहरू सहमत

Spread the love

वीरगंज, बैशाख २५


वीरगंज महानगरपालिकाले बुधबार घर बहाल करसम्बन्धी छलफल गर्दै घरधनीहरूलाई कर तिर्न कानुनी जिम्मेवारीबारे सचेत गराएको छ। छलफलमा घरधनीहरूले कर तिर्ने सहमति जनाएका छन्।

महानगर प्रमुख राजेशमान सिंहले कर तिर्ने संस्कारलाई जिम्मेवार नागरिकताको रुपमा विकास गर्न आग्रह गर्दै कर प्रणाली पारदर्शी र समावेशी बनाउन महानगर कटिबद्ध रहेको बताए।

नक्सा शाखा र राजस्व शाखाको संयुक्त टोलीले स्थलगत अनुगमन गरी सम्पत्ति अभिलेख अद्यावधिक गर्ने निर्णय भएको छ। नक्सा विपरीत संरचना भेटिएमा कानुनी कारबाही गरिनेछ।

छलफलमा अनुपस्थित घरधनीहरूलाई ४८ घण्टे अन्तिम सूचना दिइनेछ भने कानुनी प्रक्रियामा नआए सेवासुविधा बन्द गरिने चेतावनी दिइएको छ।

भविष्यमा बहाल सम्झौतामा करसम्बन्धी व्यवस्था समेट्नुपर्ने र भाडामा बस्ने व्यक्तिले कर भुक्तानीको जानकारी दिनुपर्ने व्यवस्था लागू गरिनेछ।

छलफलमा घण्टाघर–लिंकरोड क्षेत्रका घरधनीहरू सहभागी थिए। महानगरले कर संकलनलाई तीव्र बनाउँदै नगर पूर्वाधार विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।

Scroll to Top