वीरगन्ज, बहुदरमाई
जेठ ५
पिपरास्थित तिलावे नदी किनारमा अवस्थित बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्दै क्रिकेट मैदान निर्माणको शिलान्यास गरिएको छ। मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको २५ लाख रुपैयाँको बजेटमा परियोजना सुरु गरिएको हो।
शिलान्यास कार्यक्रममा नेकपा एमालेका नेता शिव पटेल, बहुदरमाई–४ का वडाध्यक्ष सुरेन्द्र यादव, वडा नं–५ का वडाध्यक्ष सुनिल कुशवाहा, कार्यपालिका सदस्य मुखदेव प्रसाद साह, समाजसेवी अधिवक्ता सुनिल कुशवाहालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेता पटेलले नेपालमा दिनप्रतिदिन बढ्दो क्रिकेटको लोकप्रियता उल्लेख गर्दै भने, “अब सहरमा मात्र होइन, गाउँमा पनि क्रिकेट सिक्न र खेल्न हामीले मैदानको शिलान्यास गरेका छौं।” उनले मैदान निर्माण अन्तर्गत पर्खाल लगाउने, माटो पुर्ने, ग्राउण्ड बनाउने र पिच निर्माण गर्ने कार्य समावेश हुने जानकारी दिए। निर्माण कार्य यही वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
क्रिकेट मैदान निर्माणले बहुदरमाई क्षेत्रका युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने र उनीहरूलाई सक्रिय बनाउने अपेक्षा गरिएको छ। यसले मधेश प्रदेशमा खेलकुद पूर्वाधारको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
देशभरि नेपाल प्रिमियर लिग (एनपीएल) जस्ता प्रतियोगिताहरूले क्रिकेटप्रतिको रुचि बढाइरहेका बेला स्थानीय तहमा यस्ता संरचनाहरू निर्माण हुनु सकारात्मक पहल मानिएको छ।


