रसुवा, जेठ ४
रसुवामा प्रहरीले स्याउ बोक्ने कन्टेनरको प्रयोग गरी सुन तस्करी गर्ने प्रयासलाई विफल पार्दै ७ किलो ६५३ ग्राम अवैध सुन बरामद गरेको छ।
रसुवा जिल्ला प्रहरी कार्यालयका अनुसार चिनीसँगको नाका हुँदै नेपाल भित्र्याइएको स्याउ बोक्ने कन्टेनरमा लुकाइएको अवस्थामा उक्त परिमाणको सुन फेला परेको हो। विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा कन्टेनरको गोप्य भागमा सुन लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको सुनलाई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुखले जानकारी दिएका छन्। घटनामा संलग्न व्यक्तिको पहिचान खुलाउन खोजी तीव्र पारिएको र तस्करीमा संलग्न सञ्जालको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यो घटनाले रसुवागढी नाकाबाट भइरहेको सुन तस्करीका गतिविधिप्रति थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। पछिल्ला दिनहरूमा भारत र चीनबाट सुनसहितका अन्य अवैध वस्तुहरूको तस्करी बढ्दै गएको सुरक्षानिकायहरू स्वीकार गर्छन्।
प्रहरीले सीमा क्षेत्रमा निगरानी र जाँच कडा पारिएको बताएको छ भने तस्करी नियन्त्रणका लागि अन्य निकायहरूसँग समन्वय गरी कारबाही अघि बढाउने जनाएको छ।


