वीरगञ्ज पर्सा
जेठ ५
संघीय सरकार अन्तर्गत सञ्चालित राजर्षि जनक विश्वविद्यालय, जनकपुरधामसँग सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना भएका स्नातक तहका विद्यार्थीहरूको प्रथम वर्ष, प्रथम सेमेस्टरको परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको छ।
उक्त परीक्षा पर्सा जिल्लाको बिरगंजस्थित ब्राइट +२ कलेजमा सञ्चालन गरिएको थियो। परीक्षा संचालनमा स्थानीय प्रशासन, कलेज प्रशासन तथा विश्वविद्यालयबीच समन्वयात्मक भूमिका देखिएको थियो, जसले परीक्षाको सुव्यवस्थित सञ्चालनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
परीक्षामा बिरगंज क्षेत्रका चार प्रतिष्ठित कलेजहरू — बिरगंज स्कुल अफ ल, ममता विद्या मन्दिर, सनलाइट +२ कलेज, र ग्लोबल बिजनेस कलेज का विद्यार्थीहरूको सहभागिता रहेको थियो। कुल ८४ जना परीक्षार्थीले सेमेस्टर परीक्षा दिएका छन्।
परीक्षाको निगरानी तथा अनुगमनको जिम्मेवारी विश्वविद्यालयबाट खटिएका परिवेक्षक पपु कुमार साहले निर्वाह गरेका थिए। उनी परीक्षा अवधिभर बिरगंजमै उपस्थित रही परीक्षाको पारदर्शिता, शुद्धता र मर्यादा कायम गर्न सक्रिय रहेका थिए। उनले जानकारी गराएअनुसार आज BBA (बि.बि.ए.) को अन्तिम परीक्षा सम्पन्न भएको छ भने बाँकी रहेको BLLB (बि.एल.एल.बी.) को एउटा परीक्षा आगामी जेठ ७ गते हुने तय गरिएको छ।
परीक्षा व्यवस्थापन तथा सुरक्षा संयन्त्र सन्तोषजनक रहेको जनाइएको छ। साथै, सम्बन्धित कलेजहरूद्वारा विद्यार्थीहरूलाई समयमै परीक्षा केन्द्रमा उपस्थित गराउनुका साथै मर्यादित वातावरणमा परीक्षा सञ्चालनमा सक्रिय सहकार्य गरिएको थियो।
विद्यार्थीहरूको अनुशासन, परीक्षा केन्द्रको उचित व्यवस्थापन र समन्वयित प्रयासले यस सेमेस्टर परीक्षालाई सफल बनाएको विश्वास गरिएको छ।


