वीरगंजको मुख्य नाला दशकौँ पछि सफा हुँदै, डुबान समस्या समाधानको आशा

Spread the love

वीरगंज, पर्सा 

जेठ ९

 वीरगंज महानगरपालिकाले दशकौँपछि पहिलोपटक मुख्य नालाको व्यापक सफाइ कार्य सुरु गरेको छ। डुबान समस्या झेल्दै आएको वीरगंज बजारलाई सुरक्षित बनाउने उद्देश्यसहित महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा यो अभियान सञ्चालनमा आएको हो।

धेरै वर्षदेखि नियमित सरसफाइ नहुँदा मुख्य नाला फोहोर, प्लास्टिक र निर्माणजन्य फालामे पदार्थले भरिँदै गएका थिए। हरेक वर्षको मनसुनमा बजार क्षेत्र पानीमा डुबानमा पर्ने स्थिति सिर्जना हुँदै आएको थियो। स्थानीयवासीले बारम्बार सरसफाइको माग गर्दै आए पनि ठोस पहल नहुँदा समस्या जटिल बन्दै गइरहेको थियो।

महानगर प्रमुख सिंहले नाला सफाइलाई प्राथमिकता दिँदै विशेष टोली गठन गरी काम सुरु गराएका छन्। सफाइ अभियानमा डोजर, जेसिबी, ट्रकजस्ता उपकरण परिचालन गरिएको छ भने जनशक्ति समेत ठूलो संख्यामा खटाइएको छ।

“यो केवल सुरुआत हो,” सिंहले भने, “नाला सफा गरेर मात्र होइन, व्यवस्थापन प्रणाली पनि मजबुत बनाउने योजना छ।”

स्थानीय व्यापारी र बासिन्दाले सफाइ अभियानप्रति सन्तोष व्यक्त गरेका छन्। उनीहरूका अनुसार दशकौँदेखि देखिएको समस्या समाधानको दिशामा यो महत्वपूर्ण कदम हो।

अबको चुनौती भनेको सफाइपछिको नियमित अनुगमन र नालाको संरचना सुधार गर्नु हो, जसबाट दीर्घकालीन रुपमा डुबानको समस्या समाधान गर्न सकियोस्।

महानगरपालिकाले आगामी दिनमा अन्य क्षेत्रका नालाहरू पनि क्रमिक रूपमा सफा गर्दै लैजाने जनाएको छ।

Scroll to Top