नेरामावी नगवामा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Spread the love

वीरगन्ज, ११ जेठ

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताको सहकार्यमा वीरगन्ज–१६ नगवामा अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार आयोजित उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंले प्रमुख अतिथिको रूपमा कक्षा ८ र ९ मा अध्ययनरत ७६ जना विद्यार्थीहरूलाई साइबर अपराधबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले वृत्तचित्र प्रदर्शन गरी साइबर अपराधका प्रकारहरू, यसले निम्त्याउने समस्या, हानि-नोक्सानी, कानुनी जरिवाना र सजायका साथै यसबाट बच्ने उपायहरूबारे व्यापक प्रशिक्षण प्रदान गर्नुभयो। प्रहरी निरीक्षक चौलागाईंले सम्पूर्ण विद्यार्थीहरूलाई सचेत रही सुरक्षित रहन आग्रह गर्नुभयो।
प्रशिक्षणका क्रममा विद्यार्थीहरूले विभिन्न जिज्ञासा तथा प्रश्नहरू राखेका थिए जसको जवाफ प्रमुख अतिथि चौलागाईंले स्पष्ट रूपमा दिएर उनीहरूलाई सन्तुष्ट पारेका थिए।
सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्र, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, मुनलाइट स्कुलका निर्देशक श्याम केसी, सामुदायिक प्रहरी कुम्हालटोलका उपाध्यक्ष सन्जु दहाल, सहकोषाध्यक्ष प्रमोद कुशवाहा, सदस्यहरू सावित्री भुमिहार, तारा विष्ट, ज्ञानमाया रायमाझी, सुशिल श्रीवास्तव, प्रहरी हवल्दार कुमार विक, प्रज रेनु यादव, स्कुलका शिक्षक सरिता खडगी लगायत शिक्षक, विद्यार्थीहरूको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझिले गर्नुभएको थियो।

Scroll to Top