फेटा, बारा
जेठ १२
बाराको फेटा गाउँपालिका वडा नम्बर १, त्रिवेणी टोलमा बाढीको समस्या समाधान गर्न बाँध निर्माण कार्य सुरु भएको छ। हरेक वर्ष अविरल वर्षाका कारण यस क्षेत्रमा हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले त्रिवेणी टोलस्थित झुलुङ्गे पुलदेखि अकवानियासम्म बाँध निर्माणको काम थालिएको हो।
गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले बाँध निर्माण कार्यको शिलान्यास गरेका हुन्। गाउँपालिका स्तरीय योजनाअन्तर्गत यो कार्य अघि बढाइएको हो।
शिलान्यासपछि अध्यक्ष अन्सारीले बाँध निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले बाढीबाट छुटकारा पाउने र जनधनको क्षति पनि नहुने विश्वास व्यक्त गरे।
शिलान्यास समारोहमा गाउँपालिका उपाध्यक्ष निलम साह, प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण प्रसाद तिवारी, वडा नम्बर १ त्रिवेणी टोलका वडा अध्यक्ष बिगोन दास तत्मा, गाउँपालिकाका कर्मचारी, स्थानीय नेता तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो। यस कदमले त्रिवेणी टोलका बासिन्दाहरूमा बाढीको चिन्ताबाट मुक्त हुने आशा जगाएको छ।


